रास्वपाको सदस्य संख्या ५ लाख नाघ्यो, बागमतीमा सबैभन्दा धेरै संगठन विस्तार
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो सदस्य संख्या ५ लाख २३ हजार ४६५ पुगेको जनाएको छ। चितवनमा जारी प्रथम महाधिवेशनमा महामन्त्री कवीन्द्र बुर्लाकोटी ले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।
प्रतिवेदनअनुसार रास्वपाको सबैभन्दा बलियो संगठनात्मक उपस्थिति बागमती प्रदेशमा देखिएको छ, जहाँ १ लाख ८३ हजार ३२० सदस्य आबद्ध छन्। प्रदेशगत रूपमा दोस्रो स्थानमा मधेश प्रदेश रहेको छ, जहाँ १ लाख २१ हजार ८९९ सदस्य छन्।
यस्तै, कोशी प्रदेशमा ७३ हजार ३५५, गण्डकीमा ६१ हजार ९२५, लुम्बिनीमा ७५ हजार ९६२, सुदूरपश्चिममा ५५ हजार ६७९ तथा कर्णालीमा २९ हजार ३२५ सदस्य रहेको विवरण सार्वजनिक गरिएको छ। सदस्य संख्याको हिसाबले कर्णाली प्रदेश सबैभन्दा पछाडि रहेको बताइएको छ।
रास्वपाले संगठन विस्तार अभियानलाई तीव्र बनाएको उल्लेख गर्दै हालसम्म ६४ जिल्लामा अधिवेशन सम्पन्न भएको जनाएको छ। त्यसैगरी ६०९ पालिका र ४ हजार ३६३ वडाको अधिवेशन सकिएको तथा बाँकी स्थानमा अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको जानकारी दिइएको छ।
महाधिवेशनमार्फत पार्टीले संगठनलाई थप सुदृढ र देशव्यापी रूपमा विस्तार गर्ने रणनीति अघि बढाएको नेताहरूले बताएका छन्।









