लन्डनमा नेपाली विद्यार्थी कौशल ठाकुर मृत फेला, शव नेपाल ल्याउन परिवारको सहयोग अपिल
लन्डन । बेलायतको लन्डनस्थित ह्यारो क्षेत्रमा बस्दै आएका २२ वर्षीय नेपाली विद्यार्थी कौशल कुमार ठाकुर आफ्नै कोठामा शंकास्पद अवस्थामा मृत फेला परेका छन्।
महोत्तरीको पिपरा नगरपालिका–७, बनौली स्थायी घर भएका ठाकुर कौशल कुमार ठाकुर युनिभर्सिटी अफ इस्ट लन्डनमा साइबर सेक्युरिटी विषयको अन्तिम वर्षमा अध्ययनरत थिए।
परिवारका अनुसार उनी केही समयदेखि मानसिक स्वास्थ्यसम्बन्धी समस्यासँग संघर्ष गरिरहेका थिए। यही कारणले उनले आत्महत्या गरेको आशंका गरिएको भए पनि घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
गत जुन १८ मा मृत फेला परेका कौशलको निधनले बेलायतस्थित नेपाली समुदायलाई स्तब्ध बनाएको छ। मृतकका भाइ आदित्य कुमार ठाकुर ले परिवार गहिरो मानसिक पीडासँगै आर्थिक समस्यामा परेको बताएका छन्।
उनका अनुसार बेलायतमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव नेपाल ल्याउन ठूलो रकम आवश्यक पर्ने भएकाले परिवारले सहयोगको अपिल गरेको छ। यसका लागि ‘गोफन्डमी’ मार्फत सहयोग संकलन अभियान सुरु गरिएको छ।
भावुक अपिल गर्दै आदित्यले भनेका छन्, “हाम्रो दाइको अगाडि उज्ज्वल भविष्य थियो, तर परिस्थितिले हामीबाट उहाँलाई खोस्यो। अहिले हाम्रो एकमात्र चाहना उहाँको पार्थिव शरीर नेपाल ल्याएर सम्मानपूर्वक अन्त्येष्टि गर्नु हो। यो कठिन समयमा सहयोग गरिदिनुहोस्।”
यस घटनाले बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूको मानसिक स्वास्थ्य, एक्लोपन र विदेश बसाइका चुनौतीबारे पुनः बहस सुरु गराएको छ।
यदि तपाईं वा तपाईंले चिन्ने कोही व्यक्ति आत्महत्याको सोच, गम्भीर निराशा वा मानसिक संकटमा हुनुहुन्छ भने, नजिकका परिवारजन, साथीभाइ वा मानसिक स्वास्थ्य सेवासँग तुरुन्त सम्पर्क गर्नु महत्त्वपूर्ण हुन्छ।









