विष्णु पौडेलको गिरफ्तारीप्रति एमालेको आपत्ति, ‘प्रतिशोधपूर्ण कदम’ भएको दाबी

कोल्हवी न्यूज
२०८३ असार ९, मंगलवार ०६:४६ गते

नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीप्रति गम्भीर आपत्ति जनाएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पौडेल पक्राउ परेको दाबी सार्वजनिक भएपछि एमाले महासचिव शंकर पोखरेलले उक्त कदम न्यायिक प्रक्रिया र विधिको शासनविपरीत भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पोखरेलले कुनै पनि विषयमा निष्पक्ष अनुसन्धान, तथ्य र प्रमाण सङ्कलन तथा कानुनी प्रक्रियापछि मात्र कारबाही अघि बढ्नुपर्ने मान्यताको उल्लङ्घन भएको दाबी गरे। उनले पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका बेला पौडेललाई नियोजित रूपमा नियन्त्रणमा लिइएको आरोप लगाए।

पोखरेलका अनुसार सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकले पौडेलसँग टेलिफोन संवाद गरी काठमाडौं फर्किएपछि सम्पर्क गर्न आग्रह गरेको र त्यसलगत्तै पक्राउका लागि पत्राचार भएको घटनाले अनुसन्धान निकायमाथि बाह्य प्रभाव रहेको आशंका उत्पन्न गरेको छ।

उनले राज्यका अनुसन्धानमूलक निकाय स्वतन्त्र, निष्पक्ष र कानुनअनुसार सञ्चालन हुनुपर्ने उल्लेख गर्दै राजनीतिक पूर्वाग्रह, प्रतिशोध वा लोकप्रियता हासिल गर्ने उद्देश्यले अनुसन्धान प्रक्रिया प्रभावित हुन नहुने बताए। पौडेलमाथिको कारबाही पूर्वाग्रही र प्रतिशोधपूर्ण देखिएको दाबी गर्दै एमालेले कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने चेतावनी दिएको छ।

यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि वक्तव्य जारी गर्दै पौडेलमाथिको कारबाहीको विरोध गरेका छन्। उनले उक्त घटनालाई विपक्षी दलप्रति लक्षित अराजनीतिक र प्रतिशोधपूर्ण व्यवहारको उदाहरण भएको टिप्पणी गरेका छन्।

पौडेल पक्राउ प्रकरणले नेपाली राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ भने यसबारे सम्बन्धित निकायको आधिकारिक धारणा र अनुसन्धानको निष्कर्षलाई चासोका साथ हेरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*