जनकपुर–अयोध्या रेल सेवाको तयारी तीव्र, नेपाल–भारत सम्बन्धमा नयाँ अध्याय खुल्ने
नेपाल र भारतबीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित जनकपुरधामदेखि अयोध्यासम्म सिधा रेल सेवा सञ्चालन गर्ने तयारी तीव्र बनाइएको छ। करिब एक साताअघि दुवै देशका उच्च सरकारी अधिकारीबीच भएको सहमतिपछि जनकपुरधाम–जयनगर–अयोध्या रेल सेवा विस्तारको प्रक्रिया अगाडि बढाइएको हो।
हाल नेपाल रेल्वेले जनकपुरधाम र जयनगरबीच नियमित रेल सेवा सञ्चालन गर्दै आएको छ। अब सोही मार्गलाई विस्तार गर्दै भारतको उत्तर प्रदेशस्थित अयोध्यासम्म रेल पुर्याउने योजना बनाइएको छ। यसलाई नेपाल–भारत सम्बन्धको नयाँ आयामका रूपमा हेरिएको छ।
जनकपुरधाम माता सीताको जन्मस्थल तथा अयोध्या भगवान् रामको जन्मभूमि भएकाले यी दुई धार्मिक नगरीबीचको सम्बन्ध विशेष महत्व राख्छ। प्रस्तावित रेल सेवा सञ्चालनमा आएपछि तीर्थयात्री, पर्यटक, व्यापारी तथा सर्वसाधारणलाई सहज यात्रा सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ।
काठमाडौँमा सम्पन्न नेपाल–भारत उच्चस्तरीय बैठकमा रेल सेवा विस्तारका विषयमा सकारात्मक सहमति जुटेको बताइएको छ। बैठकपछि रेल सञ्चालनका लागि आवश्यक मार्गनिर्देशन तयार पार्ने काम अघि बढाइएको छ। स्रोतका अनुसार सेवा उद्घाटन नेपाल र भारतका उच्च राजनीतिक नेतृत्वको उपस्थितिमा हुन सक्ने सम्भावना छ।
सैद्धान्तिक सहमतिपछि अब रेल सञ्चालनसँग सम्बन्धित प्राविधिक तथा प्रशासनिक पक्षलाई अन्तिम रूप दिने तयारी भइरहेको छ। रेलको समय तालिका, राजस्व बाँडफाँट, स्टेशन चयन, यात्रु व्यवस्थापन, सुरक्षा संयन्त्र तथा सीमा क्षेत्रको समन्वयलगायत विषयमा विस्तृत छलफल हुने जनाइएको छ।
यात्रु सुरक्षाका लागि दुवै देशले विशेष सुरक्षा योजना पनि बनाउने भएका छन्। नेपाली भूभागभित्र रेल तथा यात्रुको सुरक्षा नेपालका सुरक्षा निकायले गर्नेछन् भने भारतीय क्षेत्रमा भारतीय सुरक्षा निकाय जिम्मेवार रहनेछन्।
नेपाल रेल्वेका महाप्रबन्धक परिवेश पराजुली ले दुवै देशबीच सकारात्मक वातावरणमा छलफल भएको र प्राविधिक तथा व्यवस्थापकीय विषय समाधान गरी निकट भविष्यमै सेवा सञ्चालन गर्ने लक्ष्य रहेको बताए।
रेल सेवा सञ्चालन भएपछि जनकपुरधाम, अयोध्या, वाराणसी र गया लगायतका धार्मिक गन्तव्यमा आवागमन सहज हुने विश्वास गरिएको छ। यसले धार्मिक पर्यटन, होटल व्यवसाय, यातायात तथा सीमावर्ती क्षेत्रको व्यापार प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्राचीन मिथिलादेखि अवधसम्म रेलमार्फत प्रत्यक्ष सम्पर्क स्थापना गर्ने यो योजना सफल भएमा नेपाल–भारत सम्बन्धको इतिहासमा अर्को महत्वपूर्ण कोशेढुङ्गाका रूपमा स्थापित हुने विश्वास गरिएको छ।









