अपेक्षाभन्दा बढी सहभागिताले रास्वपा महाधिवेशन लम्बियो

कोल्हवी न्यूज
२०८३ असार ८, सोमबार १८:१३ गते

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन निर्धारित कार्यतालिकाभन्दा एक दिन लम्बिने भएको छ। प्रतिनिधिहरूको संख्या अपेक्षाभन्दा धेरै भएपछि महाधिवेशनका कार्यक्रम असार १० गतेसम्म सञ्चालन हुने संकेत देखिएको हो।

महाधिवेशनको अवस्थाबारे जानकारी दिँदै रास्वपाका नेता तथा सांसद मनिष झा ले सुरुवाती अनुमानभन्दा धेरै प्रतिनिधि सहभागी भएको बताए। उनका अनुसार करिब ३ हजार प्रतिनिधिको अपेक्षा गरिए पनि हालसम्म ४ हजार ३०० भन्दा बढी प्रतिनिधि दर्ता भइसकेका छन् भने यो संख्या ४ हजार ५०० सम्म पुग्न सक्ने अनुमान गरिएको छ।

झाले विदेशस्थित संगठनहरूबाट समेत अपेक्षाभन्दा झण्डै चार गुणा बढी प्रतिनिधिको सहभागिता रहेको जानकारी दिए। पहिलो महाधिवेशन भएकाले केही व्यवस्थापकीय चुनौती र कार्यविधिसम्बन्धी कमजोरी देखिएको स्वीकार गर्दै उनले यसलाई आगामी दिनका लागि महत्वपूर्ण अनुभवका रूपमा लिइएको बताए।

पार्टी नेतृत्वले सकेसम्म सहमतिमै नेतृत्व चयन गर्ने प्रयास गरिरहेको जनाइएको छ। तर सहमति जुट्न नसके लोकतान्त्रिक विधिअनुसार निर्वाचन प्रक्रियामा जाने तयारी पनि भइरहेको नेता झाले स्पष्ट पारे।

“हामीले असार ९ गतेभित्र सबै कार्यक्रम सम्पन्न गर्ने योजना बनाएका थियौँ। तर प्रतिनिधिको ठूलो सहभागिता र विभिन्न पदमा उम्मेदवारी दिने आकाङ्क्षीहरूको संख्या बढेकाले कार्यक्रम १० गतेसम्म लम्बिन सक्ने अवस्था बनेको छ,” उनले भने।

हाल प्रतिनिधि दर्ता प्रक्रिया जारी रहेको र छुटेका प्रतिनिधिहरूलाई समेट्न छुट्टै टोली परिचालन गरिएको रास्वपाले जनाएको छ। महाधिवेशनमा देखिएको उच्च सहभागितालाई पार्टीले संगठन विस्तार र जनआकर्षणको सकारात्मक संकेतका रूपमा लिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*