घुरको आगोले बभनगामामा ठूलो क्षति, ६ परिवार विस्थापित

कोल्हवी न्यूज
२०८३ बैशाख २७, आईतवार ०७:४५ गते

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ बभनगामामा शनिबार साँझ भएको भीषण आगलागीमा ६ परिवारका १३ वटा घर तथा गोठ जलेर नष्ट भएका छन् । आगलागीबाट लाखौँ रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

स्थानीयका अनुसार रामअवतार यादवको गोठमा बालिएको घुरबाट आगो सल्किएको हुन सक्ने अनुमान गरिएको छ । साँझ करिब ७ बजेतिर सुरु भएको आगो तीव्र रूपमा फैलिँदा आसपासका घर तथा गोठमा समेत पुगेको थियो ।

आगलागीमा रामअवतार यादवका दुई घर र एक गोठ, जुगाई यादवका दुई घर र एक गोठ, अनिल यादव (गिरिजा) का दुई घर र एक गोठ, योगिन्द्र यादवको एक घर, राजकुमार यादवको एक घर तथा धिरेन्द्र यादवको एक घर पूर्ण रूपमा जलेर नष्ट भएको जनाइएको छ ।

आगो नियन्त्रणका लागि हनुमाननगर कंकालिनी नगरपालिका र मधेश प्रदेश प्रहरी तालिम केन्द्र राजविराजबाट बारुणयन्त्र मगाइएको थियो । को.बरसाइन प्रहरी चौकीका प्रहरी र स्थानीयबासीको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, गरगहना, फर्निचर तथा नगदसहित करिब ४० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

घटनाको विस्तृत विवरण संकलन तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*