एमाले सदस्यता अब पूर्ण रूपमा डिजिटल हुने
नेकपा एमाले ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ।
केन्द्रीय कार्यालयमा आयोजित सदस्यतासम्बन्धी बैठकमा प्रस्तावित डिजिटल प्रणालीबारे विस्तृत छलफल गरिएको सङ्गठन विभाग संयोजक तथा पार्टी केन्द्रीय सचिव भानुभक्त ढकाल ले जानकारी दिनुभयो।
बैठकमा पार्टीका उपाध्यक्ष, महासचिव, प्रदेशस्तरीय नेता तथा जनसङ्गठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सो अवसरमा सदस्यता व्यवस्थापनसम्बन्धी डेमो प्रस्तुत गर्दै प्रणालीको कार्यान्वयन प्रक्रिया र सम्भावनाबारे छलफल गरिएको बताइएको छ।
डिजिटल प्रणाली लागू भएसँगै सदस्यता अद्यावधिक, अभिलेख व्यवस्थापन तथा समन्वय कार्यलाई सहज र प्रभावकारी बनाउने पार्टीको अपेक्षा रहेको छ।











