एआई एक्सरेबाट बर्दियामा क्षयरोग खोजी: ४ हजार ५ सय बढीको जाँचमा ५२ संक्रमित फेला
बर्दियाका तीन स्थानीय तहमा एआई (कृत्रिम बुद्धिमत्ता) आधारित एक्सरे प्रविधिबाट सञ्चालन गरिएको क्षयरोग (टीबी) जाँच शिविरमा ५२ जना संक्रमित फेला परेका छन्।
गुलरिया, राजापुर र बारबर्दिया नगरपालिकामा आयोजित शिविरमा कुल ४ हजार ५ सय ८७ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। प्रारम्भिक जाँचका क्रममा १ हजार १ सय ६३ जनामा क्षयरोगको शंका देखिएपछि जि-एक्सपर्ट विधिबाट थप परीक्षण गरिएको थियो। त्यसक्रममा ५२ जनामा क्षयरोग पुष्टि भएको हो।
बिराट नेपाल मेडिकल ट्रस्टका जिल्ला परियोजना संयोजक कर्णध्वज चन्दका अनुसार राजापुरमा २३, बारबर्दियामा १८ र गुलरियामा ११ जना संक्रमित भेटिएका छन्। पुष्टि भएका बिरामीलाई उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा पठाइएको छ भने ४९ जनाले औषधि सेवन सुरु गरिसकेका छन्।
स्वास्थ्यकर्मीका अनुसार एआई प्रविधिको प्रयोगले समुदायमै पुगेर जोखिममा रहेका व्यक्तिको पहिचान गर्न सहज भएको छ। यद्यपि खकार परीक्षण महँगो हुनु र प्रदेशभर एउटा मात्र एआई एक्सरे मेसिन उपलब्ध हुँदा जाँच विस्तारमा चुनौती रहेको बताइएको छ।
स्वास्थ्य कार्यालय बर्दियाले क्षयरोग हावामार्फत सर्ने रोग भएकाले समयमै पहिचान र उपचार आवश्यक रहेको जनाएको छ। एक संक्रमित व्यक्तिले १० जनासम्मलाई रोग सार्न सक्ने भएकाले खोजपड्ताल अभियानलाई निरन्तरता दिइने स्वास्थ्यकर्मीहरूको भनाइ छ।(गोरखापत्रबाट साभार)










