नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिर ११–१५ मा काठमाडौंमा, संगठन पुनर्गठन र ५०% युवा सहभागिता लक्ष्य

कोल्हवी न्यूज
२०८३ बैशाख २०, आईतवार ०७:३४ गते

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ। महाधिवेशन मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौं मा गर्ने घोषणा गरिएको हो।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले महाधिवेशनसँगै संगठनात्मक संरचना पुनर्गठन गर्ने महत्वपूर्ण निर्णय गरेको छ।

निर्णयअनुसार साउन मसान्तसम्म सदस्यता नवीकरण तथा विस्तार अभियान सञ्चालन गरिनेछ। भदौ १५ भित्र वडा अधिवेशन, भदौ १६ देखि मसान्तसम्म पालिका अधिवेशन, असोज मसान्तसम्म जिल्ला र कात्तिक १५ भित्र प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरिएको छ।

पार्टीका प्रवक्ता प्रकाश ज्वाला का अनुसार जेठ मसान्तभित्र केन्द्रदेखि वडा तहसम्मका संरचना तथा जनवर्गीय संगठनहरूको एकीकरण पूरा गरिनेछ।

साथै, सबै तहका कमिटीहरू समानुपातिक र समावेशी आधारमा गठन गर्ने तथा युवा र नवयुवाको प्रतिनिधित्व कम्तीमा ५० प्रतिशत पुर्‍याउने लक्ष्य पार्टीले लिएको छ।

यसैबीच संविधान संशोधनसम्बन्धी सुझावका लागि ११ सदस्यीय कार्यदल गठन गरिएको छ। पार्टीले अन्तरिम विधान २०८२ अनुसार केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने निर्णय समेत गरेको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*