जग्गा धितो प्रक्रिया अब अनलाइन — सेवाग्राहीलाई मालपोत धाउन नपर्ने

कोल्हवी न्यूज
२०८३ बैशाख १८, शुक्रबार १६:२२ गते

सरकारले जग्गा धितो बन्धकी तथा रोक्का–फुकुवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी अघि बढाएको छ। यससँगै अब बैंकबाट ऋण लिँदा वा चुक्ता गर्दा सेवाग्राही स्वयं मालपोत कार्यालय पुग्नुपर्ने झन्झट हट्ने भएको छ।

भूमि व्यवस्था तथा अभिलेख विभागले परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थामार्फत हुने धितो सम्बन्धी सबै काम अनलाइन प्रणालीबाट सञ्चालन गर्न निर्देशन दिएको हो।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको यो पहल ‘भूमि प्रशासन निर्देशिका, २०८१’ अनुसार चरणबद्ध रूपमा लागू गरिनेछ।

निर्देशनअनुसार तोकिएका बैंक तथा वित्तीय संस्थाले २०८३ वैशाख २१ गतेदेखि सेवा सुरु गर्नेछन् भने अन्य ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंकहरूले २०८३ जेठ १ गतेदेखि अनिवार्य रूपमा डिजिटल प्रणाली अपनाउनुपर्नेछ।

हालसम्म अनुमति नलिएका बैंक तथा वित्तीय संस्थालाई पनि निर्धारित समयभित्र आवश्यक प्राविधिक तयारी पूरा गर्न विभागले आग्रह गरेको छ।

सरकारका अनुसार नयाँ प्रणाली लागू भएपछि बिचौलियामार्फत अतिरिक्त खर्च गर्ने प्रवृत्ति अन्त्य हुनेछ। साथै मालपोत कार्यालयमा हुने भीडभाड घट्ने र सेवा प्रवाह थप छरितो बन्ने अपेक्षा गरिएको छ।

विभागले दिएको जानकारीअनुसार डिजिटल प्रणाली कार्यान्वयनपछि मालपोत कार्यालयको सेवा चाप करिब ६० प्रतिशतसम्म घट्न सक्ने अनुमान गरिएको छ, जसले नागरिकलाई छिटो र पारदर्शी सेवा प्रदान गर्न सहयोग पुग्नेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*