लिपुलेकमार्ग हुँदै कैलाश यात्रा खुला — सीमा विवादबीच भारत–चीन समन्वय
जुनदेखि अगस्टसम्म सञ्चालन हुने यो धार्मिक यात्रामा यस वर्ष २० समूह सहभागी गराइने योजना छ। तीमध्ये १० समूह लिपुलेक भञ्ज्याङ (उत्तराखण्ड मार्ग) हुँदै जानेछन् भने अन्य १० समूह सिक्किमको नाथु ला नाका प्रयोग गर्नेछन्। प्रत्येक समूहमा ५० जना तीर्थयात्री रहनेछन्। यात्रामा सहभागी हुन इच्छुकहरूले आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्, जसको अन्तिम मिति मे १९ तोकिएको छ। लिपुलेक क्षेत्र भने लामो समयदेखि विवादको केन्द्रमा रहँदै आएको छ। नेपालले यसलाई आफ्नो भूभागभित्र पर्ने क्षेत्रका रूपमा दाबी गर्दै आएको छ, जुन लिम्पियाधुराबाट करिब ५६ किलोमिटरभित्र पर्ने बताइन्छ। यो क्षेत्र कालापानी क्षेत्रअन्तर्गतका संवेदनशील स्थानमध्ये एक हो। यसअघि पनि सन् २०१५ र २०२० मा भारत–चीनबीच लिपुलेकसम्बन्धी समझदारी हुँदा नेपालले कूटनीतिक रूपमा आपत्ति जनाएको थियो। नेपालले आफ्नो आधिकारिक नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेट्दै महाकाली नदीपूर्वको भूभाग आफ्नो भएको दाबी दोहोर्याउँदै आएको छ। यसैबीच, धार्मिक यात्राको निरन्तरतासँगै भूराजनीतिक संवेदनशीलता पुनः चर्चामा आएको छ।
भारतले चीनसँगको समन्वयमा लिपुलेक भञ्ज्याङ हुँदै सन् २०२६ का लागि कैलाश मानसरोवर यात्रा खुला गर्ने घोषणा गरेको छ। भारतीय विदेश मन्त्रालयका अनुसार यात्राका लागि अनलाइन आवेदन प्रक्रिया सुरु भइसकेको छ।









