देशभर बदली र वर्षा: चट्याङसहित पानी पर्ने

कोल्हवी न्यूज
२०८३ बैशाख १७, बिहीबार ०६:५७ गते

काठमाडौँ — देशभर अहिले पश्चिमी वायु र स्थानीय वायुको प्रभावसँगै पूर्वी क्षेत्र नजिक रहेको न्यून चापीय प्रणाली सक्रिय हुँदा मौसम बदली भएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तल्लो वायुमण्डलमा विकसित न्यून चापीय क्षेत्रका कारण अधिकांश स्थानमा बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित मध्यम वर्षा भइरहेको छ। मधेश र सुदूरपश्चिमका एक–दुई स्थानमा पनि यस्तै खालको वर्षा देखिएको छ।

आज दिउँसो देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। विशेषगरी कोशी र मधेश प्रदेशका साथै हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

रातिको समयमा हिमाली क्षेत्रमा सामान्य बदली रहने र पहाडी तथा तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही हिमाली तथा पहाडी क्षेत्रमा राति पनि वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसमविद्हरूले चट्याङ, हुरी र वर्षाबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*