निजामती कर्मचारीलाई १५ दिनमै तलब दिन सुरु

कोल्हवी न्यूज
२०८३ बैशाख १७, बिहीबार ०६:४३ गते

सरकारले निजामती कर्मचारीलाई अब महिनामा दुई पटक तलब दिने नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ।

यस व्यवस्थाअनुसार पहिलो चरणमा अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयका कर्मचारीहरूले वैशाख महिनाको पहिलो १५ दिनको पारिश्रमिक बुधबार नै आफ्नो बैंक खातामा प्राप्त गरेका छन्।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वैशाख ४ गते सार्वजनिक गरेको निर्णयअनुसार कर्मचारीहरूको नगद प्रवाह व्यवस्थापन सहज बनाउन तथा बजारमा आर्थिक गतिविधि बढाउने उद्देश्यले यस्तो प्रणाली सुरु गरिएको हो।

महालेखा नियन्त्रक शोभाकान्त पौडेलका अनुसार प्रारम्भमा सीमित निकायबाट सुरु गरिएको यो अभ्यास छिट्टै संघीय सरकारका सबै कार्यालयमा विस्तार गरिनेछ।

उनले अब प्रत्येक १५ दिनमा तलब वितरण गर्दा बजारमा नियमित माग सिर्जना हुने, उपभोग खर्च सन्तुलित रूपमा फैलिने र साना व्यवसायीको नगद प्रवाहमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।

यसका लागि आवश्यक प्राविधिक तयारी पूरा भइसकेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। आगामी दिनमा सबै संघीय कर्मचारीले यही प्रणालीमार्फत तलब पाउनेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*