रौतहटमा नहर क्षेत्रका करिब ४ सय अतिक्रमण घरटहरा हटाइने

कोल्हवी न्यूज
२०८३ बैशाख १७, बिहीबार ०६:५४ गते

चन्द्रपुर — बागमती सिँचाइ आयोजनाअन्तर्गत रौतहटको चन्द्रपुर क्षेत्रमा नहर अतिक्रमण गरेर बनाइएका सयौँ घरटहरा हटाउने प्रक्रिया अघि बढाइएको छ।

आयोजनाले चैत २६ गते सातदिने सार्वजनिक सूचना जारी गर्दै नहरको दुवै किनारमा बसोबास गर्दै आएका स्थानीयलाई आफ्ना संरचना हटाउन आग्रह गरेको थियो। तर, तोकिएको समयभित्र अतिक्रमण नहटाइएपछि अब बल प्रयोग गरेर हटाउने तयारी गरिएको छ।

आयोजना प्रमुख सन्तोष चौधरीका अनुसार चन्द्रपुर नगरपालिका–५ र ६ मा विगत करिब २८ वर्षदेखि बसोबास गर्दै आएका स्थानीयका साढे तीन सयदेखि चार सयसम्म घरटहरा हटाइनेछन्। केही दिनमै नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायसहितको टोलीले स्थलगत अनुगमन गरी प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।

सरकारको सार्वजनिक जग्गा संरक्षण अभियानअन्तर्गत नहर क्षेत्र खाली गराउन लागिएको हो। सो क्षेत्रभित्र पर्ने मूल नहरको करिब १२५ मिटर क्षेत्र खाली गरिनुपर्नेछ, जसमा पूर्वतर्फ ६५ मिटर र पश्चिमतर्फ ६० मिटर भाग समेटिएको छ।

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले अतिक्रमण स्वतः नहटाइए बल प्रयोग गरिने चेतावनी दिएका छन्। यस्तै, प्रतिनिधिसभा सदस्य गणेश पौडेलले सिँचाइ विस्तार र आयोजना व्यवस्थापनका लागि यो कदम आवश्यक भएको बताएका छन्।

उता, नहर क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयले आफूहरू वास्तविक सुकुमबासी भएको दाबी गर्दै पहिचानसहित उचित व्यवस्थापन गर्न माग गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*