हेटौंडामा राहदानी अब घरमै, प्रशासन धाउनुपर्ने झन्झट अन्त्य
हेटौंडामा बसोबास गर्ने सेवाग्राहीहरूले अब राहदानी लिनका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुर धाउनुपर्ने झन्झटबाट मुक्ति पाएका छन्। बुधबारदेखि कार्यालयले हुलाक कार्यालय मकवानपुरसँग समन्वय गर्दै राहदानी सिधै घरघरमा पुर्याउने सेवा सुरु गरेको हो।
यस सेवाअन्तर्गत पहिलोपटक हेटौंडा उपमहानगरपालिका–४ का २२ वर्षीय निश्चल मानन्धरको घरमै राहदानी पुर्याइएको थियो। हुलाक कर्मचारी, कार्यालय प्रमुख र प्रशासनका प्रतिनिधि स्वयं घरमै पुगेर राहदानी हस्तान्तरण गरेका थिए। घरमै सेवा पाउँदा उत्साहित मानन्धरले सरकारले यस्ता सुविधा अन्य क्षेत्रमा पनि विस्तार गर्नुपर्ने प्रतिक्रिया दिए।
जिल्ला प्रशासनले पहिलो दिनमै ५० वटा राहदानी हुलाकमार्फत पठाएको छ, जसलाई सोही दिन वितरण गर्ने लक्ष्य राखिएको छ। यो पहल ‘घरदैलोमै सेवा’ भन्ने सरकारी सुधार कार्यक्रमअनुसार सुरु गरिएको हो, जसले सेवाग्राहीको समय र खर्च दुवै बचाउने अपेक्षा गरिएको छ।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार प्रारम्भिक चरणमा यो सेवा हेटौंडा उपमहानगरपालिका भित्र मात्रै सीमित रहनेछ। कार्यालयमा थन्किएका करिब ५०० राहदानीलाई पहिलो चरणमै वितरण गर्ने योजना बनाइएको छ।
दीर्घकालीन रूपमा भने नागरिकता, राष्ट्रिय परिचयपत्र र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जस्ता सेवा पनि घरमै उपलब्ध गराउने लक्ष्य प्रशासनले लिएको छ। हाल स्रोत–साधन र सुरक्षाका कारण अन्य पालिकामा सेवा विस्तार गर्न नसकिए पनि उपमहानगर क्षेत्रमा भने सहज रूपमा सञ्चालन भइरहेको बताइएको छ।
हुलाक कार्यालयका अनुसार नजिकका क्षेत्रमा सोही दिन र टाढाका वडामा बढीमा भोलिपल्टसम्म राहदानी पुर्याइने व्यवस्था मिलाइनेछ।
सरकारले चैत १३ गते घोषणा गरेको १०० शासकीय सुधार कार्यक्रमअन्तर्गत यो सेवा लागू गरिएको हो। भविष्यमा यस्तो सेवा प्रभावकारी बनाउन हुलाक कार्यालयको क्षमता अभिवृद्धि आवश्यक रहेको सम्बन्धित अधिकारीहरूको भनाइ छ।-कान्तिपुरबाट ।








