दक्षिणकालीको रानिभिरमा कार दुर्घटना, ३४ वर्षीय युवकको ज्यान गयो
काठमाडौँको दक्षिणकाली क्षेत्रमा आइतबार भएको एक दुःखद दुर्घटनामा एक जनाको ज्यान गएको छ। हेटौँडाबाट काठमाडौँतर्फ आउँदै गरेको बा.ए.बि–५२८१ नम्बरको निजी कार दक्षिणकाली नगरपालिका–८ स्थित रानिभिरमा सडकबाट करिब ७ सय मिटर तल खस्दा दुर्घटना भएको हो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार दुर्घटनामा काठमाडौँ महानगरपालिका–७ निवासी ३४ वर्षीय सुरज खड्काको मृत्यु भएको पुष्टि भएको छ।
दुर्घटनापछि प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेर शव तथा सवारी साधन उद्धार गर्ने प्रयास गरिरहेको छ। घटनाको कारणबारे थप अनुसन्धान प्रहरी प्रभाग फर्पिङले सुरु गरेको जनाएको छ।








