देशभर मतगणना सुरु: प्रारम्भिक परिणाममा रास्वपा अगाडि
प्रतिनिधिसभा निर्वाचनको मतगणना सुरु भएसँगै देशभर प्रारम्भिक परिणाम सार्वजनिक हुन थालेका छन्। केही स्थानमा मतपेटिका संकलन ढिलो भएका कारण सबै क्षेत्रमा एकैसाथ मतगणना सुरु हुन भने सकेको छैन।
निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृतका कार्यालयहरूबाट प्राप्त विवरणअनुसार शुक्रबार बिहान करिब साढे ३ बजेसम्म १६ वटा निर्वाचन क्षेत्रको प्रारम्भिक मतपरिणाम सार्वजनिक भइसकेको छ। तीमध्ये १२ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले सुरुवाती अग्रता बनाएका छन्।
काठमाडौं उपत्यकाभित्रका केही क्षेत्रमा मतगणना छिटो सुरु भएकाले त्यहाँका प्रारम्भिक परिणाम पहिले सार्वजनिक भएका हुन्। काठमाडौं क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्षसमेत रहेका उम्मेदवार कुलमान घिसिङ अग्रस्थानमा देखिएका छन्।
त्यस्तै काठमाडौंका क्षेत्र नम्बर १, ४, ५, ७, ८ र १० मा रास्वपाका उम्मेदवारहरूले सुरुवाती अग्रता लिएका छन्। बाँके–१, कञ्चनपुर–२ र ३ तथा कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा पनि रास्वपाले नै प्रारम्भिक बढत कायम गरेको देखिएको छ।
यता नेकपा एमालेका उम्मेदवारहरूले बाँके–२ र भक्तपुर–२ मा अग्रता बनाएका छन्। नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारहरू भने हालसम्म सार्वजनिक प्रारम्भिक परिणाममा अग्रस्थानमा देखिएका छैनन्।
अन्य धेरै निर्वाचन क्षेत्रमा मतपेटिका संकलन सकिएपछि र सर्वदलीय बैठक सम्पन्न भएपछि मात्रै मतगणना सुरु हुने निर्वाचन कार्यालयहरूले जानकारी दिएका छन्। मतगणना जारी रहेकाले प्रारम्भिक नतिजामा आगामी घण्टाहरूमा परिवर्तन हुन सक्ने सम्भावना पनि रहेको छ।








