वीरगन्ज महानगरपालिका- ३० लालपर्सा : स्वास्थ्य चौकीमा गर्भवतीका लागि बर्थिङ सेन्टर सञ्चालन
वीरगन्ज महानगरपालिका-३० लालपर्सा स्वास्थ्य चौकीमा गर्भवती महिलाका लागि २४ सै घण्टा सेवा उपलब्ध हुने गरी बर्थिङ सेन्टर आज आइतबार सञ्चालन गरिएको छ ।
ग्रामीण भेगका वडाहरूमा स्वास्थ्य सेवाको पहुँच विस्तारलाई प्राथमिकता दिँदै गाउँमै सुरक्षित प्रसूती सेवा उपलब्ध गराउने उद्देश्यका साथ यस्तो व्यवस्था मिलाएको हो । ग्रामीण भेगका बिरामी तथा सेवाग्राहीको सहजतालाई ध्यानमा राखी महानगरपालिकाले स्वास्थ्य चौकीहरूको भौतिक संरचना स्तरोन्नति, सेवा विस्तार तथा आवश्यक जनशक्ति थप गर्दै आइरहेको छ ।
यसैअनुसार वडा नम्बर ३० लालपर्सास्थित स्वास्थ्य चौकीमा आजदेखि बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको हो । यसअघि गएको शुक्रबार मात्रै वडा नम्बर १८ भवानीपुरस्थित स्वास्थ्य संस्थामा पनि बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको थियो ।
बर्थिङ सेन्टरको समुद्घाटनसँगै अब लालपर्सास्थित स्वास्थ्य चौकीमा २४ सै घण्टा प्रसूती सेवा उपलब्ध हुने भएको महानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख राजु साहले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य चौकीकै भवनमा आइतबारदेखि निरन्तर सेवा उपलब्ध हुने व्यवस्था मिलाइएको छ ।










