मधेस प्रदेशमा स्वास्थ्य बीमामा सहभागी हुने नागरिकको संख्या सात लाख ७९ हजार
मधेस प्रदेशमा स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुने नागरिकको संख्या सात लाख ७९ हजार नाघेको छ।
स्वास्थ्य बीमा बोर्ड मधेस प्रदेशका संयोजक रामेन्द्रप्रसाद कुशवाहाका अनुसार साउन १६ गतेसम्म आठवटै जिल्लाबाट कुल ७,७९,२६५ जना नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका छन्। कुल जनसंख्या ६१ लाखभन्दा बढी रहेको मधेसमा यो संख्या झन्डै १३ प्रतिशत हो।
संयोजक कुशवाहाका अनुसार स्थानीय तह र प्रदेश सरकारसँगको समन्वयमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउन विभिन्न अभियान चलाइएका छन्। उनका अनुसार प्रत्येक वडामा कार्यरत दर्ता सहयोगीमार्फत घरदैलो कार्यक्रम सञ्चालन गरेर नागरिकलाई बीमामा सहभागी गराउने प्रयास भइरहेको छ।
प्रदेश सरकारले केही सहिद परिवारको बीमाको सम्पूर्ण खर्च व्यहोरेको छ। गत आर्थिक वर्षमा विनियोजित ४० लाख रुपैयाँ बजेटमार्फत केही सहिद परिवारलाई निःशुल्क बीमा गरिएको हो। तर सबै सहिद परिवारको पहिचान, ठेगाना यकिन गर्न नसकिएको तथा कतिपय बसाइँसराइ भइसकेका कारण पूर्ण रूपमा समावेश गर्न कठिनाइ भएको कुशवाहाले जानकारी दिए।
अझ प्रभावकारी सेवा सुनिश्चित गर्न सरकारले सञ्चालनमा रहेका आधारभूत अस्पतालहरूलाई बीमा सेवाको दायरामा ल्याउने तयारी भइरहेको छ। त्यस्तै, क्यान्सर, मुटुरोग, डायलासिस, टाउको र मेरुदण्ड चोट जस्ता गम्भीर अवस्थाका बिरामीलाई प्रमाणको आधारमा बीमा सीमा एक लाख रुपैयाँले थपिएको पनि उनले बताए।
२०७३ सालदेखि सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम २०७५ सालदेखि मधेसका सबै जिल्लामा विस्तार गरिएको हो। हाल नियमित नवीकरण गरिएकालाई भुक्तानी शुल्कमा छुट दिने व्यवस्था गरिएको छ।










