भृकुटीमण्डपमा रंजीत पाण्डेयको भोजपुरी गायनले मञ्च ततायो
कोल्हवी:नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा राजधानीको भृकुटीमण्डपस्थित पुलीस क्लब हलमा सम्पन्न राष्ट्रिय संगीत उत्सव २०८२ मा मधेश प्रदेशका चर्चित युवा गायक रंजीत पाण्डेयले भोजपुरी गीत मार्फत सबैको मन जित्न सफल भएका छन्।
उक्त कार्यक्रममा पाण्डेयले प्रस्तुत गरेको लोकप्रिय भोजपुरी गीत “फाटल पहीरवे मैया हो भैया”रंजीत पाण्डेय र कुशमिता दरलामीको स्वरमा सजिएको यो गीतले हलमा उपस्थित सम्पूर्ण दर्शकहरुलाई नाच्न र झुम्न बाध्य बनाएको थियो। ऊर्जा, भावनात्मक अभिव्यक्ति र लोकधुनको मिठासले भरिएको उक्त प्रस्तुति कार्यक्रमको एक आकर्षणको केन्द्रविन्दु बनेको थियो।
संगीतका विविध विधा र भौगोलिक क्षेत्रलाई समेट्ने उद्देश्यले आयोजित राष्ट्रिय संगीत उत्सवमा देशभरका विभिन्न कलाकारहरूको प्रस्तुति रहेको थियो। तर, रंजीत पाण्डेयको गायनले विशेषगरी भोजपुरी भाषिक समुदाय मात्र होइन, समस्त श्रोताको वाहवाही पाएको देखिन्थ्यो।
कार्यक्रममा राष्ट्रिय स्तरका संगीतकर्मी, सर्जक, संस्कृतिकर्मी, विद्यार्थी र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। आयोजक संस्था नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले यस प्रकारको आयोजनाले राष्ट्रिय एकता, सांगीतिक विविधता र प्रदेशीय पहिचानलाई सम्मान दिने प्रयास भएको जनाएको छ।
भविष्यमा पनि यस्ता कार्यक्रममार्फत स्थानीय भाषामा सिर्जित गीत-संगीतलाई राष्ट्रिय मञ्चमा पुर्याउने अभियानलाई निरन्तरता दिइने प्रतिष्ठानले जनाएको छ। मधेश प्रदेशका सांगीतिक पहिचान बोकेर आएका गायक रंजीत पाण्डेय जस्ता कलाकारका लागि यस्तो अवसर प्रेरणादायी बनेको छ।









