१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको अपिल
काठमाडौं । नेपाली कांग्रेसले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि राजनीतिक दलको सदस्य नबनाउन सबै राजनीतिक दल र आफ्ना नेता–कार्यकर्तासँग सार्वजनिक आग्रह गरेको छ।
कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले शुक्रबार सार्वजनिक अपिल जारी गर्दै नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन–२०७३ र बालबालिका सम्बन्धी ऐन–२०७५ अनुसार १८ वर्ष पूरा नगरेका व्यक्तिलाई राजनीतिक दलको सदस्य बनाउन नमिल्ने स्पष्ट पारेको हो।
उपसमिति संयोजक उमंग लोहनीले उमेरसम्बन्धी व्यवस्था पार्टीको आन्तरिक नियम मात्र नभई संविधान, कानुन र बाल अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धतासँग पनि जोडिएको विषय भएको उल्लेख गरेका छन्। कांग्रेसले हाल सञ्चालनमा रहेको डिजिटल क्रियाशील सदस्यता अभियानमा पनि १८ वर्ष पूरा गरेका व्यक्तिले मात्र आवेदन दिन सक्ने जनाएको छ।
अपिलमा नेपाल पक्ष राष्ट्र रहेको संयुक्त राष्ट्रसंघीय बाल अधिकार सम्बन्धी महासन्धि (यूएनसीआरसी) ले बालबालिकालाई राजनीतिक स्वार्थ र दलीय प्रभावबाट टाढा राख्दै उनीहरूको संरक्षण, शिक्षा र बाल्यकालको अधिकार सुनिश्चित गर्न जोड दिएको स्मरण गराइएको छ।
कांग्रेसले कानुन र अन्तर्राष्ट्रिय प्रतिबद्धताविपरीत बालबालिकालाई पार्टी सदस्य बनाउने कार्यले सम्बन्धित दलसँगै अन्तर्राष्ट्रिय स्तरमा नेपालको छविमा समेत नकारात्मक असर पर्ने चेतावनी दिएको छ।
अपिलमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हालै सार्वजनिक गरिएको सदस्यता विवरणतर्फ संकेत गर्दै प्रधानमन्त्री आबद्ध दलको सदस्य सूचीमा १८ वर्षमुनिका ३५ हजार २५७ जना रहेको विषयलाई दुःखद, आपत्तिजनक र लज्जास्पद भन्दै प्रधानमन्त्रीबाट सार्वजनिक जवाफ र कानुन कार्यान्वयनमा सक्रियता अपेक्षा गरिएको उल्लेख छ।
कांग्रेसले सदस्य संख्या बढाउने प्रतिस्पर्धाका नाममा बालबालिकाको अधिकार हनन गर्ने र कानुनविपरीतका गतिविधि देशका कुनै पनि राजनीतिक दलबाट नदोहोरियोस् भन्ने उद्देश्यका साथ सबै तहका पार्टी संरचना तथा राजनीतिक दललाई सचेत रहन सार्वजनिक आह्वान गरेको छ।









