गोलबजार नगरपालिका पूर्णखोप सुनिश्चित घोषणा
सिरहा । सिरहाको गोलबजार नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको छ। नगरभित्र रहेका तोकिएका उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गतका सबै खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि शुक्रबार औपचारिक रूपमा घोषणा गरिएको हो।
नगरपालिकाका अनुसार जन्मदेखि १५ महिनासम्मका एक हजार ७०७ जना बालबालिकाले नियमित खोप लगाइरहेका छन् भने १६ महिनादेखि ५९ महिनासम्मका एक हजार ९२३ जना बालबालिकाले पूर्ण खोप प्राप्त गरिसकेका छन्।
‘पूर्णखोप, सुरक्षित भविष्य’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा नगर प्रमुख तथा खोप समन्वय समितिका अध्यक्ष श्यामकुमार श्रेष्ठले १३ वटै वडाका लक्षित बालबालिकाले आवश्यक सबै खोप प्राप्त गरेको पुष्टि भएपछि नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जानकारी दिए।
स्वास्थ्य शाखा प्रमुख सरोज कर्णका अनुसार राष्ट्रिय खोप तालिकाअनुसार तोकिएका सबै खोपको मात्रा बालबालिकालाई उपलब्ध गराइएको छ। उनका अनुसार पोलियो, दादुरा, हेपाटाइटिस, रुबेला, जापानीज इन्सेफ्लाइटिस, टाइफाइड, झाडापखालालगायत विभिन्न रोगविरुद्ध दिइने १३ प्रकारका खोपको सम्पूर्ण मात्रा लक्षित बालबालिकाले पूरा गरेका छन्।
यस आर्थिक वर्षमा सिरहाको लहान र धनगढीमाई नगरपालिकालाई पनि पूर्णखोप सुनिश्चितता घोषणा गरिसकिएको छ। जिल्ला खोप समन्वय समितिका अध्यक्ष दिनेशकुमार महतोका अनुसार जिल्लाका सबै स्थानीय तहलाई पूर्णखोप सुनिश्चित घोषणा गर्दै असार २५ भित्र सम्पूर्ण सिरहा जिल्लालाई नै पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गर्ने लक्ष्य रहेको छ।
स्वास्थ्य शाखाका अनुसार खोप निर्देशिकाले तोकेका सबै प्रक्रिया पूरा गरी आवश्यक अनुगमन तथा प्रमाणीकरणपछि गोलबजार नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको हो।









