मधेश प्रदेशको अधिकांश भाग चर्को गर्मीको चपेटामा, तापक्रम ४० डिग्री कट्न थाले
मधेश प्रदेशको अधिकांश भाग चर्को गर्मीको चपेटामा परेको छ। बीरगन्ज, जनकपुर, नेपालगञ्जदेखि विराटनगरसम्मको क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ भने अझै बढ्ने अनुमान मौसम विभागले गरेको छ।
आज बीरगन्जमा दिउँसो तापक्रम ३८ डिग्री नाघेको छ भने जनकपुरमा ३९ डिग्री पार गरेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर गर्मी तीव्र गतिमा बढिरहेको छ। मनसुन सुरु हुनुअघि वर्षा गराउने प्रणाली सक्रिय नभएको र स्थानीय तथा पश्चिमी वायुको प्रभावले तापक्रम झनै चर्किएको महाशाखाको बुलेटिनमा उल्लेख छ।
काठमाडौं उपत्यकामा पनि तीन दिनयता गर्मीको असर देखिएको छ। राजधानीमा तापक्रम ३० देखि ३२ डिग्री हाराहारी मापन गरिएको छ। महाशाखाले यस वर्ष औसत वा औसतभन्दा बढी वर्षा हुने पूर्वानुमानसमेत गरेको छ।
गर्मी अत्यधिक बढेसँगै चिकित्सकहरूले सावधानी अपनाउन आग्रह गरेका छन्। विशेष कामबाहेक घरबाहिर ननिस्कन, निस्कनै परे छाता, चश्मा, सनब्लक र भरपूर पानीको सेवन गर्न सुझाव दिइएको छ।









