पर्सामा एचपीभी खोप अभियान: पहिलो चरणमा १५ हजार १५५ जनाले लगाए, दोस्रो चरण सुरु

कोल्हवी न्यूज
२०८१ माघ ३०, बुधबार १५:४३

पर्सा जिल्लामा पहिलो चरणमा १५ हजार १५५ जनाले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाएका छन् । स्वास्थ्य कार्यालय पर्साका अनुसार, माघ २२ देखि २८ गतेसम्म पर्साका सात वटा पालिकाका किशोरीहरूले खोप लिएका हुन् ।

सखुवाप्रसौनी गाउँपालिकामा २ हजार ९३ जना, जिराभवानी गाउँपालिकामा १ हजार ५६ जना, पटेर्वासुगौली गाउँपालिकामा १ हजार २४६ जना, पोखरिया नगरपालिकामा १ हजार ९०३ जना, वीरगञ्ज महानगरपालिकामा ५ हजार ७६९ जना, पर्सागढी नगरपालिकामा १ हजार ५८८ जना र जगरनाथपुर गाउँपालिकामा १ हजार ५०० जनाले खोप लगाएका हुन् ।

माघ ३० गते अर्थात् आजदेखि पर्सामा दोस्रो चरणको एचपीभी खोप अभियान सुरु भएको छ । दोस्रो चरणको अभियान फागुन ६ गतेसम्म सञ्चालन हुनेछ । दोस्रो चरणमा बिन्दबासिनी, कालिकामाई, ठोरी, धोबिनी, छिपहरमाई, पकहाँमैनपुर गाउँपालिका तथा बहुदरमाई नगरपालिकाका किशोरीहरूलाई खोप दिइने स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा. मुक्तिनारायण सिंहले जानकारी दिए ।

उनकाअनुसार पहिलो चरणमा छुटेका किशोरीहरूलाई समेत दोस्रो चरणमा खोप दिइनेछ । त्यसैले छुटेकाहरूलाई नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन पनि उनले अनुरोध गरेका छन् ।

नेपाल सरकारले सन् २०३० भित्र पाठेघरको मुखको क्यान्सर निवारण गर्ने लक्ष्य राखेको छ । यसै योजनाअन्तर्गत, १५ वर्षसम्मका ९० प्रतिशत किशोरीलाई एचपीभी खोप दिने लक्ष्य अनुरूप स्वास्थ्य मन्त्रालयले अभियान सञ्चालन गरेको हो ।

विशेषज्ञ चिकित्सकहरूका अनुसार, पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) हो । नेपालमा हरेक दिन चार जना महिलाको मृत्यु हुने यो रोग नियन्त्रण गर्न एचपीभी खोप प्रभावकारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*