चट्याङ लागेर सङ्खुवासभामा एकै गाेठका ७२ वटा भेडा मरे

कोल्हवी न्यूज
२०८१ जेष्ठ ७, सोमबार १६:०७

सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२ वटा भेडा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले गएकाे शनिवार रातकाे समयमा परेको चट्याङ लागेर एकै गोठका ७२ वटा भेडा मरेका जानकारी दिनुभयो ।

सभापोखरी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी चापागाईंले सोमबहादुर लिम्बूको चार सय भेडामध्ये ७२ वटा भेडा मरेका जानकारी दिनुभयो । रातको समयमा हुरीसँगै असिना परेपछि रुखको फेदमा बसेका ती भेडा एकै ठाउँ मरेको भेटिएको उहाँले बताउनुभयो । अहिले  क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।

सभापोखरी गाउँपालिकाको माथिल्लो भेग नेपालको ताप्लेजुङ र चीनसँग जोडिएको छ । घटनास्थल सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबीसे बजारदेखि एक दिनको पैदल दूरीमा पर्दछ । सभापोखरी गाउँपालिकाको माथिल्लो भेगमा एकल र संयुक्त गरी ६० वटाभन्दा बढी भेडीगोठ छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*