अस्ट्रेलियासँगकाे दोस्रो एकदिवसीय क्रिकेटमा भारतको लज्जास्पद हार

कोल्हवी न्यूज
२०७९ चैत्र ६, सोमबार ०७:४४ गते

अस्ट्रेलियासँगको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले लज्जास्पद हार बेहोरेको छ ।

विशाखापटनममा भएको खेलमा अस्ट्रेलियाले भारतलाई १० विकेटले हरायो । भारतले दिएको १ सय १८ रनको लक्ष्य अस्ट्रेलियाले ११ ओभरमा कुनै पनि विकेट नगुमाई भेटायो । अस्ट्रेलियाका लागि मिचेल मार्सले ६६ र ट्रेभिस हेडले ५१ रन बनाए । मार्सले ६ छक्का र ६ चौका प्रहार गरे । योसँगै अस्ट्रेलिया २ पटकसम्म भारतलाई १० विकेटले हराउने पहिलो टिम बनेको छ ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारत २६ ओभरमा १ सय १७ रनमा अलआउट भयो । भारतका लागि विराट कोहलीले सर्वाधिक ३१ र अक्षर पटेलले २९ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्कले ५ तथा सीन एबोटले ३ र नाथन इलिसले २ विकट लिए ।

आजको जितसँगै तीन खेलको शृङ्खला १–१ को बराबरीमा पुगेको छ । पहिलो खेलमा पाहुना टोली अस्ट्रेलिया ५ विकेटले पराजित भएको थियो । तेस्रो तथा अन्तिम खेल बुधवार चेन्नईमा हुनेछ ।

भारतले आज बनाएको १ सय १७ रनको योगफल एकदिवसीय क्रिकेटमा घरेलु मैदानमा बनेको चौथौ सबैभन्दा कम योगफल हो । घरेलु मैदानमा भारतीय टिमको सबैभन्दा कम योगफल सन् १९८६ डिसेम्बरमा बनेको थियो । श्रीलङ्कासँगको कानपुरमा भएको एकदिवसीय क्रिकेटमा भारतीय टिमले ७८ रन बनाएको थियो ।

यस्तै सन् १९९३ नोभेम्बर मा अहमदाबादमा वेस्ट इन्डिजसँग भएको एकदिवसीय क्रिकेटमा भारतले १ सय रन बनाएको थियो । सन् २०१७ डिसेम्बरमा धर्मशालामा श्रीलङ्कासँगको एकदिवसीय क्रिकेटमा भारतले १ सय १२ रन बनाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*