मार्टिनेज पेनाल्टीमा चुक्दा इन्टर मिलानको हार
अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेज पेनाल्टीमा चुक्दा इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा स्पेजियासँग हार बेहोरेको छ । इन्टर घरेलु टोली स्पेजियासँग २–१ ले पराजित भएको हो ।
घरेलु टोली स्पेजियाको जितमा ड्यानियल माल्दिनी र एमबाला एनजोलाले गोल गरे । इन्टरका रोमेलु लुकाकुले एक गोल फर्काए ।
स्पेजियामा शुक्रबार राति भएको खेलको १४औं मिनेटमा लोउटारो मार्टिनेज पेनाल्टीमा चुक्दा इन्टर मिलान अग्रता लिनबाट चुक्यो ।
माटिया कालडाराले पेनाल्टी बक्समा ड्यानियल डि एमब्रुसोमाथि अनावश्यक च्यालेन्ज गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै इन्टरलाई पेनाल्टी प्रदान गरेको थियो । तर, मार्टिनेजको पेनाल्टीलाई स्पेजियाका गोलरक्षक बार्टलोमिज ड्रागोस्कीले बचाए ।
५५औं मिनेटमा ड्यानियल माल्दिनीले गोल गर्दै स्पेजियालाई १–० को अग्रता दिलाए । उनले एमबाला एनजोलाको पासमा गोल गर्न सफल भएका थिए । ८३औं मिनेटमा रोमेलु लुकाकुले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
सल्भारडर फेररले पेनाल्टी बक्समा डेन्जेल डमफ्रेजलाई फउल गरेपछि रेफ्रीले इन्टरलाई खेलमा दोस्रोपटक पेनाल्टी प्रदान गर्दा लुकाकु चुकेनन् । तर, ८७औं मिनेटमा एमबाला एनजोलाले पेनाल्टीमा गोल गर्दै इन्टरलाई यस सिजनको सिरी ‘ए’ मा आठौं हार चखाए ।
स्पेजियाले भने पाँचौ जित दर्ता गर्न सफल भयो । डेन्जेल डमफ्रेजले पेनाल्टी बक्समा कोभालेन्कोलाई फउल गरेपछि रेफ्रीले स्पेजियालाई पेनाल्टी प्रदान गरेको थियो । जसमा एमबाला एनजोला चुकेनन् ।
यस जितसँगै स्पेजिया २६ खेलबाट २४ अंक जोडेर १७औं स्थानमा रहेको छ । पराजित इन्टर २६ खेलबाटै ५० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । इन्टर शीर्षस्थानको नेपोलीसँग १५ अंकले पछि छ । एजेन्सी ।










