टोरिनोमाथि युभेन्ट्सको रोमाञ्चक पुनरागमन जित, ३१५ दिनपछि मैदान उत्रिए पोग्बा
सिरी ए फुटबलमा युभेन्ट्सले टोरिनोमाथि रोमाञ्चक पुनरागमन जित हात पारेको छ ।
३१५ दिनपछि पाउल पोग्बा मैदान उत्रिएको खेलमा युभेन्ट्सले टोरिनोमाथि ४-२ गोल अन्तरको जित हात पारेको हो । म्यानचेस्टर युनाइटेड छोडेर पुरानै क्लब युभेन्ट्स फर्किएका पोग्बा टोरिनोविरुद्ध वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका थिए । पोग्बा खेलको ६९ औँ मिनेटमा इन्जोलाई रिप्लेस गर्दै मैदान छिरेका थिए ।
सन् २०२२ को अप्रिलमा म्यानचेस्टर युनाइटेडमाथि लिभरपुलले ४-० को जित निकालेको खेलमा पोग्बा घाइते भएका थिए । त्यसपछि म्यानचेस्टर युनाइटेड छोडेर युभेन्ट्स फर्किएका पोग्बा मैदान उत्रिएका थिएनन् ।
खेलमा सुरुवाती अग्रता भने टोरिनोले लिएको थियो । खेलको दोस्रो मिनेटमै यान कारामोहले गोल गर्दै टोरिनोलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको १६औँ मिनेटमा युभेन्ट्सका लागि जुआन काउराडोले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।
खेलको ४३औँ मिनेटमा एन्टोनियो सानब्रियाले गोल गर्दै टोरिनोलाई फेरि २-१ को अग्रता दिलाए । तर, पहिलो हाफको इन्जुरी समयमा युभेन्ट्सका लागि डानिलोले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । पहिलो हाफ २-२ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा भने युभेन्ट्सले दुई गोल थप्यो ।
खेलको ७१औँ मिनेटमा ग्लिसन ब्रेमेरले गोल गर्दै युभेन्ट्सलाई ३-२ गोलको अग्रता दिलाए । खेलको ८० औँ मिनेटमा एड्रिएन राविअटले गोल गरेपछि युभेन्ट्स टोरिनोमाथि ४-२ गोल अन्तरको जित निकाल्न सफल भयो ।
जितसँगै युभेन्ट्स २४ खेलबाट ३५ अंकका साथ सिरी (ए) को सातौँ स्थानमा यथावत छ । समान खेलबाट ३१ अंक जोडेको टोरिनो नवौँ स्थानमा छ ।










