‘पाइलटको कमान्ड परिवर्तन भएकाले यति एयर दुर्घटना’

कोल्हवी न्यूज
२०७९ फाल्गुन ४, बिहीबार ०८:५७

गत १ माघमा पोखराको सेती नदी खोँचमा भएको यती एयर विमान दुर्घटनाको कारण पाइलटको कमान्ड परिवर्तन भएको पाइएको छ ।

सरकारद्वारा गठित विमान दुर्घटना जाँच आयोगले बुधबार वेबसाइटमार्फत सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा सो विमान दुर्घटना हुनुभन्दा १४ सेकेन्ड अघिमात्र पाइलट अञ्जु खतिवडाको हातबाट प्रशिक्षकसमेत रहेका पाइलट कमल केसीले कमान्ड लिएको भनिएको छ ।

चालक दलका सदस्यसहित ७२ जनाको ज्यान जानेगरी दुर्घटना भएको सो विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा बिहान १० बजेर ५७ मिनेट ३२ सेकेन्डमा सेती नदीको खोँचमा खसेको थियो । त्यसको १४ सेकेन्डअघि मात्र विमानका को–पाइलट खतिवडाको सिटमा रहेका प्रशिक्षक पाइलट केसीले सो विमान कन्ट्रोलमा लिएको प्रतिवेदनमा उल्लेख छ ।

यती विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन

त्यसबेला दुर्घटनामा परेको सो विमानमा खतरा जनाउने संकेत देखिइसकेको दुर्घटना जाँच आयोगको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार ल्यान्डिङ गियर भने सामान्य तरिकाले नै खुलेको थियो । अवतरणका क्रममा पाइलट सिटमा बसेकी अञ्जुले को–पाइलटको सिटमा बसेका प्रशिक्षक पाइलट केसीसँग निरन्तर सुझाव मागेकी थिइन् । उनले विमानलाई निरन्तर देब्रे मोड्ने कि नमोड्ने भनेर सोधेकी थिइन् । जसमा प्रशिक्षक पाइलट केसीले मोड्न अनुमति दिएका थिए ।

त्यतिबेला खतिवडाले विमान अझै तल लैजाने कि नलैजाने भनी सोध्दा केसीले त्यसो नगरी इन्जिनको पावर बढाउन भनेका थिए । तर, इन्जिनमा पावर नआएको थाहा पाएपछि अन्तिम क्षणमा खतिवडाले विमानको कमान्ड प्रशिक्षक पाइलट केसीको हातमा सुम्पिएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।

सो प्रतिवेदनमा भनिएको छ, ‘यो महत्वपूर्ण छ कि पाइलट खतिवडा (पीएफ) ले १० बजेर ५७ मिनेट १८ सेकेन्डमा विमानको कन्ट्रोल पाइलट केसी (पीएम) लाई हस्तान्तरण गरेकी थिइन् भने १० बजेर ५७ मिनेट २० सेकेन्डमा केसीले पनि इन्जिनबाट कुनै शक्ति नआएको बताएका थिए, त्यतिबेला विमान जमिनदेखि ३ सय ११ फिटमात्र माथि थियो ।’

दुर्घटनाका बेला सो विमान धावनमार्गको नजिक पुगिसकेको थियो । काठमाडौंबाट गएको सो विमान अवतरणका क्रममा पोखरा विमानस्थलमा मोड्नुपर्ने अवस्थामा थियो । त्यसबेला विमानका दुवै इन्जिनका ‘प्रोपेलरहरू’ फेदरमा गएको देखिएको छ । यस अवस्थामा विमान अघि बढ्न सक्दैन । सोही कारण सो विमान दुर्घटनामा परी सेती खोँचमा झरेको थियो ।

यो अवस्था आउनुमा इन्जिनकै खराबी थियो वा मानवीय कमजोरी भयो अथवा अवतरण गर्ने मार्गमै केही समस्या थियो भन्ने’bout भने विस्तृत प्रतिवेदनले मात्र देखाउने प्रतिवेदनमा उल्लेख छ । अहिलेसम्म प्रारम्भिक प्रतिवेदन मात्र तयार पारेको दुर्घटना जाँच आयोगले आगामी अनुसन्धान भने यी तीन विषयमा केन्द्रित हुने बताएको छ । सो दिन दुर्घटनामा परेको विमानका चालक दलका सदस्यको तेस्रोपटकको उडान थियो । सो विमान भीएफआर प्रणालीबाट अवतरण गरिरहेको थियो ।

सो विमान १० बजेर ३२ मिनेटमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको थियो । विमान पोखरा पुगेपछि ६ हजार फिटबाट अवतरणका लागि ३ सय ११ फिटको उचाइमा ओर्लिसकेको अवस्था थियो । त्यतिबेला पोखरा विमानस्थलको ट्राफिक कन्ट्रोलरले सो विमानलाई धावनमार्ग ‘थ्री जिरो’बाट अवतरण गर्न अनुमति दिएका थिए ।

तर, पाइलटले उत्तरतर्फको रनवे ‘वान टु’बाट विमान अवतरण गराउनेगरी अनुमति मागे । यस्तो अनुमति किन मागे भन्ने खुलेको छैन । सोहीनुसार एटीसीले अनुमति पनि दिएको थियो । तर, विमान अनुमति लिएको केहीबेरमै दुर्घटनामा परेको थियो ।

त्यो विमान दुर्घटना नेपालको आन्तरिक हवाई उडानको इतिहासमै सबैभन्दा धेरै मानवीय क्षति भएको भयानक दुर्घटना थियो । सो विमानमा सवार यात्रु र चालक दलका सदस्यसहित कुल ७२ जनाको मृत्यु भएको थियो ।

दुर्घटनालगत्तै सरकारले पूर्वसचिव नागेन्द्रप्रसाद घिमिरेको अध्यक्षतामा दुर्घटना जाँच आयोग गठन गरेको थियो । आयोगले बुधबार अन्तरिम सुरक्षा सुझावसहितको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको हो । दुर्घटनाको कारण भने विस्तृत प्रतिवेदनमा मात्र खुल्ने आयोगले जनाएको छ ।

अब हाम्रो अनुसन्धान कता केन्द्रित भयो भन्ने संकेत मात्र यस प्रतिवेदनले गर्ने बताउँदै आयोगका एक सदस्यले भने, ‘विस्तृत प्रतिवेदनले त्यसलाई केलाउने प्रयास गर्छ ।’ उनले यसक्रममा भग्नावशेषमा भेटिएका उपकरणलाई थप अध्ययन गर्नुपर्ने बताए ।

अनुसन्धानका क्रममा दुर्घटना जाँच आयोगले सिंगापुरस्थित ‘ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेसन ब्युरो’मा ‘फ्लाइट डेटा रेकर्डर’ र ‘ककपिट भ्वाइस रेकर्डर डेटा’ विश्लेषण गरेको थियो । जसका लागि आयोगका संयोजक घिमिरे, हवाईविज्ञ र सदस्यसचिव बुद्धिसागर लामिछाने सिंगापुर गएका थिए ।

‘फलाइट डेटा रेकर्डर’ र ‘ककपिट भ्वाइस रेकर्डर’को डेटाको विश्लेषण गर्न आयोगको नेतृत्वमा सिंगापुर, फ्रान्स, क्यानडा र आयसाका प्रतिनिधिसमेत बसेर प्राविधिक तथा मानवीय पक्षको विश्लेषण गरिएको आयोगले जनाएको छ । सोही अवसरमा सिंगापुरस्थित एटीआर विमानको ‘सिमुलेटर’मा विभिन्न फ्लाइट र प्राविधिक पक्षको थप अध्ययनसमेत भएको छ ।

आयोगले अन्तिम प्रतिवेदन पेस गर्न समय लाग्ने भएकाले हालसम्म प्राप्त सूचना र तथ्यांकको विश्लेषण र अनुसन्धानका आधारमा हवाई सुरक्षामा थप सुरक्षा अभिवृद्धि गर्न सिफारिससहित प्रारम्भिक प्रतिवेदन ल्याएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*