‘निलो क्रान्ति’ होइन, अब नेपाललाई ‘हरित क्रान्ति’ चाहिन्छ : कुलमान घिसिङ

कोल्हवी न्यूज
२०८३ जेष्ठ २२, शुक्रबार १८:२७ गते

कुलमान घिसिङ ले राष्ट्रिय स्वतन्त्र पार्टी ले अघि सारेको ‘निलो क्रान्ति’ दीर्घकालीन रूपमा प्रभावकारी नहुने दाबी गर्दै नेपालका लागि अबको उपयुक्त विकल्प ‘हरित क्रान्ति’ भएको बताएका छन्।

उज्यालो नेपाल पार्टीका अध्यक्षसमेत रहेका घिसिङले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै देशको दिगो विकास, आर्थिक रूपान्तरण र राजनीतिक स्थायित्वका लागि वातावरणमैत्री विकासको अवधारणामा आधारित हरित क्रान्ति आवश्यक रहेको बताए।

उनले विगतका राजनीतिक परिवर्तनलाई विभिन्न ‘रङका क्रान्ति’का रूपमा व्याख्या गर्न सकिने भए पनि अबको आवश्यकता आर्थिक सुदृढीकरण, उत्पादन वृद्धि र वातावरण संरक्षणसँग जोडिएको परिवर्तन भएको उल्लेख गरे।

घिसिङले उज्यालो नेपाल पार्टीको मूल दर्शन नै हरित क्रान्तिमा आधारित रहेको बताउँदै पार्टीको झण्डा र चुनाव चिह्नले समेत यही अवधारणाको प्रतिनिधित्व गर्ने दाबी गरे।

उनका अनुसार हरित क्रान्तिको आधार सुशासन हो। जलस्रोतको अधिकतम उपयोग, जलविद्युत् उत्पादन विस्तार, हरित हाइड्रोजन तथा हरित युरियाको उत्पादनमार्फत मुलुकलाई आर्थिक रूपमा सबल बनाउन सकिने उनले बताए।

घिसिङले आगामी दिनमा उज्यालो नेपाल पार्टीले हरित क्रान्ति र सुशासनलाई मुख्य राजनीतिक एजेन्डाका रूपमा अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*