नेपाल र नामिबियाबीचको खेल आज, ६ महिनापछि मैदान फर्कँदै सन्दीप

कोल्हवी न्यूज
२०७९ फाल्गुन २, मंगलवार ०८:१५ गते

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले आज नामिबियाको सामना गर्दैछ । नेपाल र नामिबियाबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

सिरिजमा नेपाल पाहुना टोली नामिबियालाई हराउँदै सुखद सुरुवात गर्न चाहन्छ । यद्यपि लिग–२ मा राम्रो लयमा रहेको नामिबियालाई हराउन नेपाललाई सहज भने पक्कै छैन । अहिलेसम्म लिग–२ मा नामिबियाले ३० म्याच खेल्दा १८ मा जित, ११ मा हार तथा एक खेलमा अंक बाँडेको छ । ऊ ३७ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । यता नेपाल भने तालिकाको छैटौँ स्थानमा छ ।

सबैभन्दा कम २४ खेल खेलेको नेपालले १४ मा हार, आठमा जित र दुई खेलमा अंक बाँडेको छ । तालिकामा सुधार गर्न नेपालले घरेलु सिरिजमा उत्कृष्ट प्रदर्शन गर्नुको विकल्प छैन ।

हालसम्म नेपाल र नामिबियाको चार अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा भेट भएको छ । जसमा नेपालले नामिबियालाई हराउन सकेको छैन । यी दुई टोलीले पहिलोपटक ११ जुलाई २०२२ मा एकदिवसीय खेलेका थिए । सो खेलमा नेपाल ४० रनले पराजित भएको थियो ।

सोही वर्षको १६ जुलाईमा भएको खेलमा नामिबियासँग नेपाल ६३ रनले पराजित हुन पुग्यो । नेपाल र नामिबियाबीच तेस्रोपटक २ डिसेम्बर २०२२ मा भेट भयो । तर, सो खेलमा वर्षा बाधक बन्दा म्याच रद्द भयो । नेपाल र नामिबियाले चौथोपटक गत वर्षको ७ डिसेम्बरमा खेलेका थिए । सो म्याचमा नेपाल ८६ रनले पराजित हुन पुग्यो ।

यसपटक भने नामिबियाविरुद्धको हारको यात्रा नेपाल अन्त्य गर्न चाहन्छ । घरेलु मैदानमा खेल्न लागेकाले पनि नेपाललाई यसपटक त्यो लक्ष्य भेट्टाउन केही सहज छ । साथै, प्रमुख स्पिनर सन्दीप लामिछानेको कमब्याकले पनि नेपाललाई केही राहत मिलेको छ ।

गत भदौमा एक नाबालिगले जबर्जस्तीकरणीको जाहेरी दिएपछि सन्दीप मैदान बाहिर थिए । अहिलेसम्म उनको मुद्दा किनारा लागिसकेको छैन । यद्यपि उच्च अदालत पाटनले गत पुसमा २० लाख धरौटीमा रिहा गर्न आदेश दियो ।

अदालतले विदेश जान नपाउनेसहित केही सर्तका साथ सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । उनी ६ महिनापछि मैदानमा फर्किन लागेका हुन् ।

सन्दीप नेपालका लागि टी–२० र एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने बलर हुन् । हालसम्म उनले ४४ टी–२० मा ८५ र ३० एकदिवसीय खेलमा ६९ विकेट लिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*