रोमाञ्चक जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा

कोल्हवी न्यूज
२०७९ पुष २१, बिहीबार ०६:३९ गते

तेस्रो श्रेणीको सिएफ इन्टरसिटीमाथि अतिरिक्त समयमा रोमाञ्चक जित निकाल्दै क्याटलान क्लब बार्सिलोना स्पेनिस कोपा डेल रेको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बार्सिलोनाले इन्टरसिटीलाई अतिरिक्त समयमा ४–३ ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । बार्सिलोनाको जितमा रोनाल्ड एराउजो, औसमाने डेम्बेले, राफिन्हा र अन्सु फातीले गोल गरे । इन्टर सिटीका २१ वर्षीय आक्रमक मिडफिल्डर ओरिओल सोल्डेभिलाले ह्याट्रिक पूरा गरेपनि हार टार्न सकेन ।

स्टेडियो जोश रिको पेरेज एलिकेन्ट स्पेनमा बुधबार राति भएको खेलमा बार्सिलोनाले बल पोसेसन राख्दै बलियो पकड बनाएपनि जितको लासग अतिरिक्त समय नै कुर्नुपरेको थियो ।

खेलको चौथो मिनेटमा एराउजोको गोलबाट बार्सिलोनाले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो । ५९औं मिनेटमा ओरिओल सोल्डेभिलाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

६६औं मिनेटमा डेम्वेलेको गोलबाट बार्सिलोनाले पुनः खेलमा २–१ को अग्रता लिन सफल भयो । ७४औं मिनेटमा ओरिओल सोल्डेभिलाले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

७७औं मिनेटमा राफिन्हाले गोल गर्दै पुन बार्सिलोनालाई खेलमा ३–२ ले अघि बढाए । ८६औं मिनेटमा ओरिओल सोल्डेभिलाले ह्याट्रिक पूरा गरेपछि ३–३ गोलको बराबरी हुँदा खेल अतिरिक्त समयमा लम्बियो ।

ओरिओल सोल्डेभिला सन् २०२१ को फेब्रअरीपछि बार्सिलोनाविरुद्ध ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् । त्यसबेला पिएसजीका केलियन एमबाप्पेले ह्याट्रिक प्रहार गरेका थिए ।

अतिरिक्त समयको १३औं मिनेटमा अन्सु फातीले गोल गर्दै बार्सिलोनालाई खेलमा पुनः ४–३ ले अघि बढाए । त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोना विजयी हुन सफल भयो ।

बार्सिलोनासँग लगातार दवाव झेलेको इन्टरसिटीले काउन्टर अट्याकमा पाएको मौकालाई सदुपयोग गर्दै बार्सिलोनालाई बलियो चुनौती पेश गरेको थियो । इन्टर सिटी दोस्रो डिभिजनमा पनि रेलिगेसन क्षेत्रमा रहेको छ ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*