रियल स्पेनी ला लिगाको शीर्षमा
विश्वकप खेल्न नपाएको चोट बिर्सँदै करिम बेन्जेमाले खेलको अन्त्यतिर दुई गोल गरेपछि रियल म्याड्रिडले स्पेनी ला लिगामा भालाडोलिडलाई शुक्रबार २–० ले हराएको छ । बेलन डे’अर विजेता बेन्जेमा विश्वकपमा सहभागी फ्रान्सेली टिममा रहे पनि चोटका कारण प्रतियोगिता खेल्न पाएका थिएनन् ।
अभ्यासका बेला बोकेको चोटका कारण फ्रान्सको पहिलो खेल अगाडि नै उनी घर फर्कन बाध्य रहे । फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई हराए लगतै बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा पनि गरेका थिए । रियलको यो जितपछि भने १५ खेलबाट ३८ अंक भएको छ र शीर्ष स्थानमा उक्लेको छ ।
बार्सिलोना एक खेल कम खेलेर ३७ अंकमा दोस्रो स्थानमा छ । शुक्रबारका अन्य खेलमा काडिजले अल्मेरिया तथा सेल्टा भिगोले सेभियासँग समान १–१ को बराबरी खेले ।
शनिबार बार्सिलोनाले इस्पनयोलको सामना गर्दैछ र त्यसमा जित निकालेर अंक तालिकाको शीर्ष स्थानमा उक्लने अवसर हुनेछ ।










