म्यानचेस्टर सिटीको जितमा हल्याण्डको दोहोरो गोल

कोल्हवी न्यूज
२०७९ पुष १४, बिहीबार ०६:२३ गते

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लिड्स युनाइटेडलाई हराएको छ। एल्याण्ड रोड स्टेडियममा सम्पन्न खेलमा सिटीले घरेलु टोली लिड्समाथि ३-१ गोलअन्तरको जित निकालेको हो।

सिटीको जितमा रोड्रीले एक गोल गर्दा अर्लिङ हल्याण्डले कीर्तिमानी दोहोरो गोल गरे। पहिलो हाफको इन्ज्युरी समयमा रोड्रीको गोलमा सिटीले अग्रता बनाएको थियो। खेलको ५१ औं मिनेटमा ज्याक ग्रिलिसको पासमा हल्याण्डले गोल गर्दै अग्रता दोब्बर बनाए। त्यस्तै ६४ औं मिनेटमा ग्रिलिसकै अर्को निस्वार्थ पासमा हल्याण्डले अर्को गोल थपे। योसँग हल्याण्ड प्रिमियर लिगको इतिहासमा सबैभन्दा छिटो २० गोल गर्ने खेलाडी बनेका छन्। गोलपछि भने हल्याण्डले सेलिब्रेसन गरेनन्। लिड्स उनका बुवाको पूर्व टोली हो जहाँ रहँदा उनको जन्म भएको थियो। अर्कोतर्फ लिड्सका लागि ७३ औं मिनेटमा पास्कल स्ट्रुइज्कले ७३ औं मिनेटमा सान्त्वना गोल फर्काए।

जितसँगै १५ खेलबाट ३५ अंक जोडेको सिटी अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। शीर्षस्थानको आर्सनलको ४० अंक छ। लिड्स भने १५ अंक जोडेर तालिकाको १५ औं स्थानमै छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*