कठिन बन्दै बार्सिलोनाको नकआउट चरणको यात्रा
घरेलु मैदानमा इटालियन क्लब इन्टर मिलानसँग ३–३ को बराबरीमा रोकिएपछि स्पेनिस महारथी बार्सिलोना लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिने सम्भावना बढ्दै गएको छ ।
अघिल्लो साता सानसिरोमा सम्पन्न पहिलो लेगमा इन्टरसँग पराजित भएपछि जाभीको टिम बार्सिलोनालाई बुधबार राति क्याम्प नोउमा जित्नु पर्ने थियो । तर, सुरुमै अग्रता लिएर पनि बार्सिलोनाले त्यसलाई जोगाउन भने सकेन । घरमै पराजित हुन लागेको बार्सिलोनालाई इन्जुरी समयमा रोबर्ट लेवानडोस्कीले उद्दार गरेका थिए ।
बार्सिलोनाले ४० औं मिनेटमा औसमाने डेम्बेलेको गोलबाट अग्रता लिएको थियो । ५० औं मिनेटमा इन्टरका निकोला बरेलाले बराबरी गोल फर्काए । ६३ औं मिनेटमा लौटारो मार्टिनेजले गरेको गोलबाट इन्टरले अग्रता लियो । ८२ औं मिनेटमा लेवानडोस्कीले बराबरी गोल फर्काए । ८९ औं मिनेटमा रोबिन गोसेन्सले गरेको गोलबाट इन्टरले पुनः अग्रता लियो । ६ मिनेट इन्जुरी समयको दोस्रो मिनेटमा लेवानडोस्कीले गोल गरेपछि बार्सिलोना हारबाट जोगियो ।
अन्तिम समयमा सिमोन इन्जाघीले रातो कार्डको सामना गरेपछि इन्टरले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो । बराबरीपछि बार्सिलोनाको नकआउट चरणको यात्रा कमजोर बनेको छ ।
‘‘अब हामीलाई आफूले जितेर मात्र पनि हुँदैन । अन्य टिमको नतिजामा पनि भर पर्नुपर्छ । यो हाम्रै गल्तीका कारण भएको हो । र अब यसलाई सुधार गर्नुपर्छ । अहिलेको वास्तविकता यही हो । युरोपमा हाम्रो प्रदर्शनमा सुधार गर्न सोचेभन्दा लामो लाग्यो,’’ बार्सिलोनाका प्रशिक्षक जाभीले भने, ‘‘यहाँ ला लिगा, कोपा डेल रे, सुपर कोपा जस्ता अन्य प्रतियोगिता पनि छन् । त्यसमा पनि हामीले जोड दिनुपर्छ, दृढ रहनुपर्छ र विश्वास गर्नुपर्छ । घरेलु मैदानमा यत्रो समर्थकमाझ यो वातावरणमा पनि हामीले बराबरी खेल्ने मेरो गल्ती हो । म क्रोधित छु । यस प्रतियोगिता हाम्रो लागि अझै निर्दयी बन्यो ।’’
बार्सिलोनाले च्याम्पियन्स लिगको समूह चरणमा अब बायर्न म्युनिखसँग घरमा र भिक्टोरिया प्लाजेनसँग अवे खेल खेल्नेछ । बार्सिलोनाले अब दुवै खेल जितेर मात्र पुग्दैन । इन्टर मिलानले पनि बायर्न र भिक्टोरिया प्लाजेनसँग अंक बाड्नुपर्छ । अनिमात्र बार्सिलोनाको सम्भावना हुन्छ ।
समूह ‘सी’मा बायर्न १२ अंकका साथ शीर्ष स्थानमा छ । बायर्नले अन्तिम–१६ मा स्थान पक्का गरिसकेको छ । इन्टर ७ अंकका साथ दोस्रो स्थानमा छ भने बार्सिलोना ४ अंकका साथ तेस्रो स्थानमा छ । भिक्टोरिया प्लाजेन अंकविहीन छ । बायर्नले गएराति भिक्टोरिया प्लाजेनलाई ४–२ ले हराएको थियो ।









