युक्रेनमाथि रुसको गोप्य मतदानको आह्वानलाई भारतले गर्यो अस्वीकार
युक्रेनमाथि रुसको गोप्य मतदानको आह्वानलाई भारतले अस्वीकार गरेको छ । युक्रेनका चार भूभागलाई मस्कोको अवैध विलयको निन्दा गर्ने प्रस्तावको मस्यौदामा भारतले रुसको विपक्षमा मतदान गरेको हो ।
संयुक्त राष्ट्रसंघको महासभामा रुसले मागेको गोप्य मतदानलाई अस्वीकार गर्दै भारतले सार्वजनिक मतदानको पक्षमा मत दिएको थियो ।
संयुक्त राष्ट्रसंघ महासभाका १९३ सदस्यीय राष्ट्रहरूले सोमबार अल्बानियाको प्रस्तावमा मतदान गरेका थिए । उक्त प्रस्तावमा रुसको ‘अवैध तथाकथित जनमतसंग्रह’ र डोनेट्स्क, खेर्सन, लुहान्स्क र जापोरिज्जिया क्षेत्रहरूको ‘गैरकानुनी विलय गर्ने प्रयास’को निन्दा गर्ने मस्यौदा थियो ।
हालैका दिनमा रुसले युक्रेनभर क्षेप्यास्त्र प्रहार गरी ती चार क्षेत्र रुसमा गाभिएको घोषणा गरेको थियो ।
रुसले उक्त प्रस्तावमा गोप्य मतदानको माग गरेको थियो । मस्कोको उक्त मागलाई भारतसहित संयुक्त राष्ट्रसंघका १०७ सदस्य राष्ट्रहरूले अस्वीकार गरी सार्वजनिक रेकर्ड अभिलेख मतको पक्षमा मतदान गरेको भारतीय समाचार संस्था पीटीआईलाई उद्धृत गर्दै वानइन्डिया डटकमले जनाएको छ ।
गोप्य मतदानका लागि रुसको आह्वानको पक्षमा १३ राष्ट्रले मात्र मतदान गरे । ३९ राष्ट्र अनुपस्थित रहे । मतदान नगर्ने देशमध्ये रुस र चीन थिए ।










