विश्वकै ठूलो ड्रोन निर्माता कम्पनी डीजेआई अमेरिकाको कालोसूचीमा
विश्वको ठूलो ड्रोन निर्माता कम्पनी डीजेआईलाई अमेरिकाले कालोसूचीमा राखेको छ । चिनियाँ सेनासँग सम्बन्ध बढाएको भन्दै अमेरिकाको रक्षा विभागले डीजेआईलाई कालोसूचीमा राखेको हो ।
गत हप्ता विभागले डीजेआई बाहेक थप १३ कम्पनीलाई कालोसूचीमा राखेको छ । यससँगै अमेरिकाको कालोसूचीमा पर्ने चिनीयाँ कम्पनीहरु ६० भन्दा बढी पुगेका छन्, जसमा सेमिकन्डक्टर उत्पादन गर्ने कम्पनी एसएमआईसी, प्रविधि कम्पनी ह्यावे टेक्नोलोजीजस्ता ठूला कम्पनीहरु पनि छन् ।
यसैबीच डीजेआईका प्रवक्ता एडम लिसबर्गले आफूहरु कालोसूचीमा पर्ने कुनै कारण नभएको प्रतिक्रिया दिएका छन् । साथै सैन्य उद्देश्यका लागि आफ्नो विमान प्रयोग गर्न निरुत्साहित गर्ने एकमात्र ड्रोन निर्माता डीजेआई रहेको पनि उनले दाबी गरेका छन् । चीनको शेन्जेन शहरमा आधारित डीजेआई टेक्नोलोजीले विश्वमा ७६ प्रतिशत ड्रोनको बजार हिस्सा ओगट्ने गर्दछ ।
यसले सार्वजनिक सुरक्षा, पूर्वाधार, पावर लाइन निरीक्षण, कृषि, र अन्य प्रयोगहरूको लागि ड्रोनहरू बेच्ने गर्दछ ।
यसैबीच चीनले अमेरिकालाई अन्य राष्ट्रहरूको विकासमा बाधा पुर्याउन वैज्ञानिक र प्राविधिक उपलब्धिहरू प्रयोग नगर्न चेतावनी दिएको छ ।










