आईएसएलमा केरला ब्लास्टर्सको विजयी सुरुवात
इन्डियन सुपर लिग फुटबलको नयाँ सिजनमा केरला ब्लास्टर्सले विजयी सुरुवात गरेको छ ।लिगको नवौं सिजनको पहिलो खेलमा ब्लास्टर्सले इस्ट बङ्गाललाई ३–१ ले हराएको थियो ।
केरला ब्लास्टर्सका लागि बैकल्पिक खेलाडीको रुपमा मैदानमा प्रवेश गरेका इभान कालियुझानी नायक बने र दुई गोल गरे ।
ब्लास्टर्सका गोलकिपर प्रभुसुखान गिलले पनि राम्रो प्रदर्शन गरेका थिए ।
बनभकोच्चिस्थित जवाहरलाल नेहरू स्टेडियममा भएको उद्घाटन खेलमा दुवै टोलीको पहिलो हाफ बराबरी खेलेका थिए ।
पहिलो हाफमा कुनै गोल हुन नसकेपनि दोस्रो हाफमा ४ गोल निस्किएको थियो ।
खेलको ७२ औं मिनेटमा एड्रियन लुनाको गोलबाट केरला ब्लास्टर्सले खाता खोलेको थियो ।
लुनाले हरमनजोत खबरको लामो पासलाई उत्कृष्ट शैलीमा रोकेर इस्टबङ्गालको गोलपोष्टमा पुर्याएका थिए ।
लुनाले यो गोल आफ्नी छोरीलाई समर्पण गरेका छन् ।
छोरीको यसै वर्ष विरामी भएर निधन भएको थियो ।
खेलको ८०औँ मिनेटमा दुवै टोलीले प्रतिस्थापन गरेका थिए भने ब्लास्टर्सका लागि इभान कालिउज्नाई मैदानमा आएका थिए ।
८३औं मिनेटमा इभानले ईस्ट बङ्गालका तीन डिफेन्डरलाई छल्दै गोल गरेका थिए ।
तर ८७ औं मिनेटमा ब्लास्टर्सको कमजोर डिफेन्सको फाइदा उठाउँदै इस्ट बंगालले एलेक्स लिमाको गोलमा अग्रता २–१ मा झारेको थियो ।
८८औं मिनेटमा इभान कालिउज्नाईले गोल गर्दै ब्लास्टर्सलाई ३–१ को अग्रता दिलाएका थिए । यो जितसँगै केरला ब्लास्टर्सले ३ अंक जोडेको छ ।
टोलीको अर्को खेल अक्टोबर १६ मा एटीके मोहन बागानसँग खेल्ने छ भने इस्ट बंगालले अक्टोबर १२ मा गोवासँग खेल्नेछ ।
लिगमा आज ८ मा बेंगलुरु एफसी र नर्थइस्ट युनाइटेड एफसी भिड्दैछन् ।









