अस्ट्रेलियालाई ट्वान्टी-२० शृंखला

कोल्हवी न्यूज
२०७९ आश्विन २२, शनिबार ०८:२४ गते

डेविड वार्नरको आक्रामक ७५ रन र मिचेल स्टार्कको चार विकेट प्रदर्शनको मद्दतले अस्ट्रेलियाले वेस्ट इन्डिजलाई शुक्रबार ३१ रनले पराजित गर्दै ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला २–० ले जितेको छ । ट्वान्टी–२० विश्वकपको उपाधि रक्षा गर्ने तयारीका क्रममा अस्ट्रेलियाले यो सजिलो जित निकालेको हो ।

अस्ट्रेलियाका ओपनिङ ब्याटर डेविड वार्नर ब्याटिङ गर्दै । तस्बिर स् एएफपी
ठोस सुरुआत लिएको घरेलु टिम एक समय एक विकेट गुमाएर ९५ रनमा थियो । तर त्यसपछि उसले पाँच रनमा तीन विकेट गुमाएको थियो । टिम डेविडले त्यसपछि टिमको उद्धार गर्ने क्रममा २० बलमा ४२ रन बनाए । उनले तीन विशाल छक्का प्रहार गरे र टिमले सात विकेट गुमाएर १ सय ७८ रनको स्कोर खडा गरेको थियो ।

प्लेयर अफ द म्याच वार्नरले खेलपछि भने, ‘आज सबैको उत्कृष्ट अलराउन्ड प्रदर्शन रह्यो । हामीले खेलको बीचमा टेस्ट म्याच शैलीमा बलिङ गर्ने निर्णय गरेका थियौं र यसले वेस्ट इन्डिजलाई असजिलो बनायो ।’ कप्तान एरोन फिन्चले भने वार्नरको प्रदर्शन निर्णायक भएको बताए । अस्ट्रेलियाले पहिलो ट्वान्टी–२० तीन विकेटले जितेको थियो । वेस्ट इन्डिज भने विश्वकप अगाडिको आफ्नो अन्तिम खेल जित्न चाहन्थ्यो तर उसको भाग्यमा यो लेखिएको थिएन । अब प्रारम्भिक चरणको अक्टोबर १७ मा हुने खेलमा वेस्ट इन्डिजले स्कटल्यान्डको सामना गर्नेछ ।

अस्ट्रेलियाको बलियो चुनौती अगाडि वेस्ट इन्डिजले यसपल्ट आठ विकेटमा १ सय ४७ रन मात्र बनाउन सक्यो । स्टार्कले २० रन मात्र खर्चेर चार विकेट लिए । वेस्ट इन्डिज कप्तान निकोलस पुरनले खेलपछि भने, ‘हार स्विकार्न जहिले पनि गाह्रो हुन्छ तर अस्ट्रेलियाले हाम्रो तुलनामा निकै राम्रो क्रिकेट खेलेको थियो ।’ पाहुना टिमका कोही पनि ब्याट्सम्यानले वार्नरसरहको प्रदर्शन गर्न सकेन । उनले ब्रिसवेनको गाबा मैदानमा ‘सर्ट’ आएका सबै बलमा मज्जाले खेले । उनले १० चौका र ३ छक्का प्रहार गरे । यसबीच उनले ४१ बलको मात्र सामना गरे ।

वेस्ट इन्डिजको जवाफमा इनिङ्स कमजोर रह्यो । उसले पहिलो ओभरमै केली मेयर्सलाई गुमाएको थियो । अस्ट्रेलियाले सुरुआती बलिङ निकै राम्रो गरेको थियो र पहिलो पाँच ओभरमा टोलीले २१ डट बल फ्यालेका थिए । वेस्ट इन्डिजले २३ रन बनाएका ब्रेन्डन किङ, दुई रन बनाएका पुरन र २९ बल बनाएका जोनसन चार्ल्सलाई १७ रनको अन्तरमा लगातार गुमाएको थियो । त्यस स्थितिमा पाहुना टिम ११ ओभरको समाप्तिमा ७६ रनमा खुम्चिएको थियो । त्यसयता कुनै पनि समय वेस्ट इन्डिजले जित पछ्याउने छाँट देखाउन सकेको थिएन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*