पाकिस्तानलाई एफ-१६ बेच्ने सम्झौतामा भारतको विरोधपछि अमेरिकाले भन्यो ‘दुवै हाम्रो साझेदार हो ’
भारतका विदेश मन्त्री एस। जयशंकरले पाकिस्तानलाई एफ–१६ जेट प्याकेज आपूर्ति गरेको असन्तुष्टि जनाएपछि वासिङ्टनले भारत र पाकिस्तान आफ्नो ‘साझेदार’ भएको प्रतिक्रिया दिएको छ । यस महिनाको सुरुमा, अमेरिकाले ४५ करोड डलर मुल्य बराबरको एक सम्झौतालाई स्वीकृति दिएको छ, जस अनुरुप पाकिस्तानलाई एफ–१६ विमान तथा सम्बन्धित उपकरणको सम्भावित बिक्री हुनेछ ।
भारतले उक्त कदमको निजी रुपमा विरोध गरेको थियो । आइतवार अमेरिकामा रहेका जयशंकरले भारतीय मुलका अमेरिकी समुदायले आयोजना गरेको कार्यक्रममा बोल्ने क्रममा पाकिस्तानलाई युद्धका विमान बेच्न अमेरिकाले दिएको तर्क कमजोर धरातलमा उभिएको बताए ।
‘एफ–१६ जस्तो क्षमताको विमान आतंकवादीहरूसँग लड्नका लागि भन्ने अमेरिकाले जुन तर्क दिएको छ, त्यसमा कुनै दम छैन । यो कोविरुद्ध प्रयोग हुन्छ, भन्ने सबैलाई थाहा भएको कुरा हो ,’ जयशंकारले भने ।भारतीय विदेश मन्त्रीले गत वर्ष वाशिङ्टन अफगानिस्तानबाट अपमानित भएर निस्कनु परेको र त्यसको पछि पाकिस्तानको हात भएको सम्झाएका थिए । र अमेरिकाले अहिले उसैसँग साझेदारी गरेकोमा उनले प्रश्न उठाएका थिए ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले एक दिनपछि जयशंकरको कथनमा प्रतिक्रिया दिएका छन् । त्यसले भारत र पाकिस्तानसँग वाशिंगटनको सम्बन्ध स्थिर रहने संकेत गर्दै दुवैमा आफूहरुको साझा चासो रहेको बताए । ‘हामीले पाकिस्तान र भारतसँगको हाम्रो सम्बन्धलाई एउटासँग भए अर्कोसँग नहुने शैलीमा हेर्दैनौं,’ नियमित मिडिया ब्रिफिङमा सोधिएको प्रश्नको जवाफमा अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता प्राईसले भने ।
प्राईसले अघि भने ‘भारत र पाकिस्तान दुबै हाम्रा साझेदारहरू हुन् र प्रत्येकसँग हाम्रा फरक फरक प्राथमिकता छन् । दुबैलाई हामी साझेदारको रूपमा हेर्छौं किनभने धेरै अवस्थामा हाम्रा साझा मूल्यहरू छन्, धेरै अवस्थामा हाम्रा साझा हित जोडिएको छन् ।’ ‘अमेरिकाले भारत र पाकिस्तानबीच राम्रो सम्बन्ध भएको हेर्न चाहेको’ पनि प्राईसले बताए ।










