कायरतापूर्ण गल्तीहरु स्वीकार गर्न रुससँग साहस छैन : जेलेन्स्की

कोल्हवी न्यूज
२०७८ चैत्र २८, सोमबार ०७:१७

रुसले अझै भयानक यातना र अत्याचार गर्न सक्ने युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन् । रुसी सैनिकको कब्जामा रहेका क्षेत्रमा सर्वसाधारणको ठूलो संख्यामा बरबर हत्याका घटना सार्वजनिक भएका छन् । राजधानी किएभ नजिकैको बुचासहितका बजारमा सर्वसाधारणका शव सडक अलपत्र अवस्थामा भेटिएको थियो ।

युक्रेनले यसलाई रुसी सैनिकले गरेको नरसंहार र युद्ध अपराध भनेको छ । रुसले भने सर्वसाधारणको हत्या अस्वीकार गर्दै आफूलाई फसाउन खोजिएको दाबी गर्दै आएको छ ।

आफ्नो नियमित रात्रिकालीन सम्बोधनको क्रममा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी दाबी खारेज गर्दै भनेका छन्, ‘उनीहरु हाम्रा नागरिकको हत्या हाम्रै सैन्य अभियानका कारण भएको भनिरहेका छन्, जुन सरसर झुठ हो । यसले रुसको कमजोरी संकेत गर्छ ।’

उनले अघि भनेका छन्, ‘उनीहरु बुचामा भएको हत्या हामीले गरेको आरोप लगाएका छन्, आफूले होइन भनिरहेका छन् । तपाईँलाई थाहा छ कि रु किनकी त्यो कारयता हो ।’

रुसले सर्वसाधारणको हत्या गर्नु उसको कायरता र कमजोरीको निशानी रहेको उनले बताएका छन् । ‘दशकौँदेखि युक्रेनप्रति लिएको रुसको सम्पूर्ण नीति नै गलत रहेको स्वीकार गर्न उनीहरु डराएका छन्’, जेलेन्स्कीले भनेका छन् ।

आफ्ना गल्तीहरु स्वीकार नगर्नका लागि रुसले थप गल्तीहरु गर्ने र त्यसले सर्वसाधारणलाई खतरा हुने जेलेन्स्कीले बताएका छन् । उनले भनेका छन्, ‘उनीहरु आफैले राजनीतिक समाधानको विकल्पबाट आफूलाई पर बनाए, असम्भव महत्वकांक्षा छोड्न चाहिरहेका छैनन्, अनि यो युद्ध सुरु गरे ।’ ‘यो सबै कायरताको परिणाम हो’, जेलेन्स्कीले भनेका छन् ।

‘जब कायरता बढ्छ, त्यो विपदमा परिणत हुन्छ । जब मानिसमा गल्ती स्वीकार गर्ने, वास्ताविकता स्वीकार गर्ने, त्यसबाट सिक्ने र माफी माग्ने साहस हुँदैन तब उनीहरु राक्षर बन्छन् । र जब विश्वले राक्षसलाई बेवास्ता गर्छ, तब उसले आफूलाई विश्वले अपनाउनु पर्ने माग गर्छ’, जेलेन्स्कीले भनेका छन् । ‘युक्रेनले यो सबै रोक्ने छ’, जेलेन्स्कीले आफ्नो सम्बोधनमा भनेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*