नेपाल-भारतबीच भएको ऊर्जा सहकार्यसम्बन्धी संयुक्त दृष्टिकोणमा के छ?

कोल्हवी न्यूज
२०७८ चैत्र २१, सोमबार १६:०२

प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किएका छन्।

प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा यसपालि एउटा नयाँ सहमति भएको छ। ऊर्जा सहकार्यसम्बन्धी भारत-नेपालको संयुक्त दृष्टिकोण नाम दिइएको उक्त सहमति नेपालको बिजुली निर्यातका लागि निकै महत्वपूर्ण मानिएको छ।

ऊर्जा सहकार्यमा सहमति भएपछि हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जोइन्ट भिजन स्टेटमेन्ट अन पावर को-अपरेसन भविष्यमा सहयोगको ब्लुप्रिन्ट साबित हुने बताएका थिए।

त्यही अवसरमा मोदीले भारतले नेपालबाट उत्पादित थप बिजुली किन्नेमा स्वीकृति दिन लागेको पनि जानकारी दिए।

यो प्रसन्नताको विषय छ कि नेपालले आफूलाई धेरै भएको बिजुली भारतमा बेचिरहेको छ। यसले नेपालको आर्थिक प्रगतिमा ठूलो योगदान दिनेछ, उनले भने, मलाई यो भनिरहँदा हर्ष हुन्छ कि नेपालले थप बिजुली भारतमा बेच्ने प्रस्तावलाई पनि हामी स्वीकृति दिँदैछौं।

उक्त दृष्टिकोण ६ बुँदे छ। तेस्रो बुँदामा दुबै देशका प्रधानमन्त्री ४ कुरामा सहमत भएको उल्लेख गरिएको छ। नेपालमा संयुक्त रूपमा हाइड्रो पावर परियोजना विकास गर्ने, सीमापार ट्रान्समिसन लाइन पूर्वाधार बनाउने, दुबै देशको आ-आफ्नो नियमअनुसार परस्पर हितमा हुने गरी दुईतर्फी व्यापारका लागि एक अर्काको बजारमा सहज पहुँच उपलब्ध गराउने, राष्ट्रिय प्रसारण लाइन सञ्चालनमा समन्वय गर्ने, नयाँ प्रविधिको आदान(प्रदानका लागि संस्थागत सहकार्य गर्ने कुरा उल्लेख छ। त्यस्तै यस्तो सहकार्य बिबिआइएन बंगलादेश, भुटान, भारत र नेपाल फ्रेमवर्कभित्र रहेर अरू मुलुकमा पनि बढाउने बताइएको छ।

दुबै देशको राष्ट्रिय नीति र जलवायु परिवर्तनसम्बन्धी प्रतिवद्धताअनुसार नवीकरणीय ऊर्जा विशेष गरी जलविद्युत उत्पादन गर्नु ऊर्जा सहकार्यका लागि कोसेढुंगा हुने कुरा पनि उल्लेख गरिएको छ।

नेपालको जलविद्युतमा हुने भारतीय लगानीले दुबै देशमा रोजगारी सिर्जना गर्नुका साथै अरू औद्योगिक र आर्थिक क्षमता विकासमा सघाउने पनि उल्लेख छ।

नेपालले भारतीय कम्पनीलाई एक्लै र साझेदारीमा जलविद्युतसहित नवीकरणीय ऊर्जा परियोजनाको विकास, निर्माण र सञ्चालन गर्न आह्वान गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*