‘रुसले वाचा गर्‍यो, आक्रमण घटाएन’

कोल्हवी न्यूज
२०७८ चैत्र १७, बिहीबार ०८:१२ गते

रुसले वार्ताका क्रममा गरेको वाचाविपरीत चेर्निहिबमा आक्रमण जारी राखेको युक्रेनले जनाएको छ ।

गभर्नर भिचास्लाभ चाउसले रुसको सैन्य गतिविधिमा कुनै कमी नआएको जनाएका हुन् । टर्कीको इस्तानबुलमा मंगलबार भएको वार्तामा रुसले युक्रेनी राजधानी किभ र चेर्नोबिलमा सैन्य गतिविधि कम गर्ने प्रतिबद्धता जनाएको थियो ।

गभर्नर चाउसले रुसले आफ्नो वाचा पूरा नगरेको भन्दै सामाजिक सञ्जालमार्फत निन्दा गरेका छन् । ‘हामी त्यसमा विश्वास गर्दैनौं,’ उनले भने । उनले चेर्नोबिल क्षेत्रमा मंगलबार रातभर हवाई आक्रमण भएको जनाए । इस्तानबुल वार्तापछि रुसी उपरक्षामन्त्रीले एलेक्जेन्डर फोमिनले ‘दुई देशबीच आपसी विश्वास बढाउनका लागि सैन्य गतिविधिमा कमी ल्याइने’ बताएका थिए । रुसी कदमले दुवै पक्षबीच अन्य चरणमा वार्ता हुने र उद्देश्य प्राप्तिका विषयमा सम्झौता हुने फोमिनको भनाइ थियो ।

युक्रेनी र रुसी पक्षबीच भविष्यमा ‘थप जटिल विषयमा पनि छलफल हुने’ फोमिनले बताएका थिए । तर रुसी पक्षले वाचाअनुसार आक्रमणमा कमी नल्याए पनि उसको शान्तिप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठेको छ । मंगलबार भएको उच्चस्तरीय वार्तापछि दुवै पक्षले दिएको प्रतिक्रियालाई युक्रेनमा शान्ति स्थापना हुने पहिलो संकेतका रूपमा लिइएको थियो । वार्ताका क्रममा युक्रेनी पक्षले आफ्नो देशको सुरक्षा प्रत्याभूति भएको खण्डमा ‘तटस्थ’ भूमिका अपनाउन तयार रहेको बताएको थियो । रुसले फेब्रुअरी २४ मा युक्रेनमाथि ‘सैन्य कारबाही’ सुरु गरेको हो ।

रुसी अधिकारीहरूले ‘वार्ता व्यावहारिक चरणमा प्रवेश गरेको’ जनाएको भए पनि रुसले सैन्य फौजको उपस्थिति घटाउने रुसी प्रतिबद्धतामाथि शंका व्यक्त गरेको थियो । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले एक भिडिओ सन्देश जारी गर्दै रुसी गोलाबारी नरोकिएको जनाएका छन् । ‘युक्रेनीहरू कच्चा छैनन्,’ उनले भनेका छन् ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*