उद्योग विभागका अधिकांश सेवा अब पूर्ण रूपमा अनलाइन, कार्यालय धाउनुपर्ने बाध्यता हट्यो
काठमाडौं । उद्योग विभागले सेवाग्राहीलाई छिटो, सहज र पारदर्शी सेवा प्रदान गर्ने उद्देश्यले आफ्ना अधिकांश प्रशासनिक तथा नियामक सेवा पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ। नयाँ व्यवस्थासँगै उद्योगसम्बन्धी धेरै सेवा अब कार्यालयमा धाइरहनुपर्ने झन्झटबिना विद्युतीय माध्यमबाटै प्राप्त गर्न सकिने भएको छ।
विभागले जारी गरेको सूचनाअनुसार उद्योग दर्ता, नवीकरण, विवरण अद्यावधिक, उद्योग स्थानान्तरण, पुँजी तथा उत्पादन क्षमता वृद्धि, नाम तथा उद्देश्य संशोधन, विदेशी लगानी स्वीकृति, व्यावसायिक भिसा सिफारिस तथा वार्षिक प्रगति विवरण पेशलगायतका सेवा अनलाइनबाटै उपलब्ध हुनेछन्।
यसअघि यी सेवाका लागि विभागमा व्यक्तिगत रूपमा उपस्थित हुनुपर्ने व्यवस्था रहेकामा अब अनलाइन प्रणालीमा समावेश भएका सेवाका लागि त्यस्तो बाध्यता हटाइएको छ। विशेष आवश्यकता परे सम्बन्धित उद्योग वा कम्पनीका आधिकारिक प्रतिनिधिले आवश्यक परिचयपत्रसहित मात्र उपस्थित हुन सक्ने व्यवस्था गरिएको छ।
विभागका अनुसार अब अनलाइन सेवासँग सम्बन्धित आवेदन तथा कागजात भौतिक रूपमा दर्ता गरिने छैन। सम्पूर्ण प्रक्रिया विद्युतीय माध्यमबाटै सम्पन्न गरिने भएकाले सेवा प्रवाह अझ प्रभावकारी र पारदर्शी हुने अपेक्षा गरिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उद्योग प्रशासनलाई प्रविधिमैत्री र परिणाममुखी बनाउने नीति अनुरूप डिजिटल सेवा विस्तारलाई प्राथमिकता दिएको बताउँदै उद्योगी–व्यवसायीलाई अनलाइन प्रणालीको अधिकतम उपयोग गर्न आग्रह गर्नुभएको छ।









