वर्षाले देशभरका मुख्य राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध

कोल्हवी न्यूज
२०८३ श्रावण ७, बिहीबार ०७:२६ गते

पछिल्ला केही दिनदेखि भइरहेको निरन्तर वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न भागका मुख्य राजमार्गमा यातायात प्रभावित भएको छ । नेपाल प्रहरी र सडक विभागका अनुसार पाँचवटा प्रदेशका दर्जनौँ सडकखण्डमा यातायात सञ्चालनमा समस्या आएको हो ।

कोशी प्रदेशमा भोजपुरस्थित मध्यपहाडी लोकमार्ग बाढीका कारण प्रभावित हुँदा हाल एकतर्फी रूपमा मात्र यातायात सञ्चालन भइरहेको छ । इलामको मेची राजमार्ग र खोटाङको मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–रुपाकोट खण्ड भने पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन् । इलाममा वैकल्पिक मार्गबाट यातायात सञ्चालनको व्यवस्था गरिएको छ ।

बागमती प्रदेशमा पनि प्रमुख राजमार्गहरू बाढी र पहिरोको जोखिममा छन् । विपद् व्यवस्थापनलाई ध्यानमा राख्दै बीपी राजमार्गको काभ्रे खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । कान्तिलोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालन गर्न निषेध गरिएको छ ।

सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत जिरोकिलो र कोदारीमा पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ । दोलखाको लामासाँघु–रामेछाप सडकखण्ड पनि बाढीका कारण अवरुद्ध छ ।

गण्डकी प्रदेशका विभिन्न पहाडी जिल्लामा पहिरोले सडक यातायात ठप्प पारेको छ । बागलुङको कालीगण्डकी करिडोर, लमजुङको बेँसीसहर–मनाङ सडकखण्ड र म्याग्दीको बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

यस्तै, कर्णाली प्रदेशको रुकुम पश्चिममा भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड बाढीका कारण बन्द छ । सुदूरपश्चिम प्रदेशको डडेलधुरास्थित केआई सिंह राजमार्गमा पहिरो खसे पनि हाल एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ ।

वर्षा अझै जारी रहेकाले थप पहिरो जान सक्ने जोखिम रहेको भन्दै अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह गरिएको छ । यात्रा गर्नैपर्ने अवस्था भए नजिकको प्रहरी चौकी वा सडक विभागसँग सम्पर्क गरी सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरिएको छ ।753164306_2856551094744817_626884414950474787_n

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*