कलैयामा मिनी ट्रक घरमा ठोक्किँदा एकको मृत्यु

कोल्हवी न्यूज
२०८३ श्रावण ५, मंगलवार ०८:२८ गते

बाराको कलैयामा मिनी ट्रक घरमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

सोमबार राति करिब १२ः३० बजे बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा १ क ४८३६ नम्बरको खाली मिनी ट्रक कलैया उपमहानगरपालिका–४ स्थित गुप्ता पेट्रोल पम्प नजिक अनियन्त्रित भई स्थानीय सुरेश साह कानुको घरमा ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ट्रकमा सवार जितपुरसिमरा उपमहानगरपालिका–८ इमलीप्रतीका ४० वर्षीय शिवनारायण पासवान गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएकोमा राति १२ः५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

सोही दुर्घटनामा ५० वर्षीय देवनारायण चौधरी घाइते भएका छन्। उनको टाउको तथा हातखुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरीले ट्रक चालक रौतहटको गुजरा नगरपालिका–९ सिमरा भवानीपुरका २७ वर्षीय राजु कुमार चौधरीलाई नियन्त्रणमा लिएको छ। दुर्घटनामा मिनी ट्रकको अगाडिको भागमा क्षति पुगेको छ भने घरको एकतर्फी पर्खालसमेत भत्किएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*