भाथा धाममा साउन १४ देखि एकमहिने धार्मिक मेला, तयारी अन्तिम चरणमा
पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित ऐतिहासिक तथा धार्मिक स्थल श्री श्री १०८ बाबा दुधेश्वरनाथ महादेव रामभौडी भाथा धाममा यस वर्षको वार्षिक धार्मिक मेला साउन १४ गतेदेखि सुरु हुने भएको छ। पर्सा राष्ट्रिय निकुञ्जको बीचमा रहेको धाममा सञ्चालन हुने मेला एक महिनासम्म चल्नेछ।
मेला व्यवस्थापन समितिका अध्यक्ष अलखदेव चौधरी थारूका अनुसार साउन १० गतेदेखि श्रद्धालुहरूका लागि धाम प्रवेश खुला गरिनेछ भने साउन १४ गते औपचारिक उद्घाटनसँगै मेला सुरु हुनेछ। यस वर्ष साउनको पहिलो सोमबार साउन १८ गते परेकाले त्यस दिन विशेष रूपमा भक्तजनको ठूलो भीड हुने अपेक्षा गरिएको छ।
नेपालका विभिन्न जिल्लासँगै भारतका सीमावर्ती क्षेत्रबाट समेत हजारौं श्रद्धालु भाथा धाममा भगवान् दुधेश्वरनाथ महादेवको दर्शन, जलाभिषेक तथा पूजा–आराधनाका लागि आउने गरेका छन्। समितिका अनुसार साउन महिनाको मेला धार्मिक महत्व र भक्तजनको सहभागिताका हिसाबले सबैभन्दा ठूलो मानिन्छ।
श्रद्धालुहरूको सुविधाका लागि सडक मर्मत, कल्भर्ट निर्माण, खानेपानी, शौचालय, विद्युत्, सरसफाइ तथा सुरक्षा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। साथै पूजा सामग्री, प्रसाद, भोजन, खेलकुद तथा अन्य व्यापारिक स्टलहरू साउन १० गतेदेखि सञ्चालनमा आउनेछन्।
यस वर्ष मेलालाई थप व्यवस्थित र सुरक्षित बनाउन भीड व्यवस्थापन, स्वास्थ्य सेवा, आपतकालीन उद्धार, सरसफाइ तथा महिला–पुरुषका लागि छुट्टाछुट्टै स्नान र कपडा फेर्ने स्थानको व्यवस्था गरिएको समितिले जनाएको छ।
धार्मिक विश्वासअनुसार सयौं वर्ष पुरानो दुधेश्वरनाथ महादेव मन्दिरमा श्रद्धापूर्वक पूजा–अर्चना गर्दा मनोकामना पूरा हुने, पारिवारिक सुख–शान्ति र सन्तान प्राप्ति हुने जनविश्वास रहिआएको छ। यही विश्वासका कारण प्रत्येक वर्ष हजारौं श्रद्धालु भाथा धाम पुग्ने गर्छन्।
स्थानीयवासीले भाथा धामलाई धार्मिक आस्थासँगै धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा विकास हुँदै गएको बताएका छन्। मेला अवधिमा स्थानीय होटल, यातायात, व्यापार तथा साना व्यवसायमा समेत उल्लेखनीय आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ।










