लेबलविहीन र गुणस्तरहीन जुत्ता–चप्पल बिक्री नगर्न विभागको कडा चेतावनी
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा लेबलविहीन, नक्कली, कम गुणस्तरका तथा चोरी पैठारी गरिएका जुत्ता–चप्पल बिक्री तथा वितरण नगर्न सबै सम्बन्धित पक्षलाई चेतावनी दिएको छ।
विभागका अनुसार यस्ता फुटवेयरको बिक्रीबारे विभिन्न माध्यमबाट उजुरी र गुनासो प्राप्त भएपछि शुक्रबार सार्वजनिक सूचना जारी गर्दै उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता तथा बिक्रेतालाई प्रचलित कानुनको पूर्ण पालना गर्न निर्देशन दिइएको हो।
उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार उत्पादकले वस्तुमा अनिवार्य रूपमा आवश्यक विवरणसहितको लेबल राख्नुपर्ने, पैठारीकर्ताले कानुनी प्रक्रिया पूरा गरेर मात्र वस्तु आयात गर्नुपर्ने तथा बिक्रेताले गुणस्तरीय वस्तु बिक्री गर्नुपर्ने व्यवस्था रहेको विभागले स्मरण गराएको छ।
विभागले उपभोक्ताको गुणस्तरीय वस्तु प्राप्त गर्ने अधिकार सुरक्षित गर्न कानुनविपरीत हुने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट गर्दै नियम उल्लङ्घन गर्ने व्यक्ति वा संस्थामाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ।










