पर्सामा भन्सार छलीका सामान र ६२० किलो स्याउ बरामद
वीरगञ्ज — पर्सामा सशस्त्र प्रहरी बलले सञ्चालन गरेको दुई छुट्टाछुट्टै कारबाहीमा भन्सार छली गरेर ल्याइएका विभिन्न सामान तथा भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको ६२० किलोग्राम स्याउ बरामद गरेको छ।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्साअन्तर्गत सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१६ फुलबारी टोलस्थित एक घरमा खानतलासी गरेको थियो। सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको नेतृत्वमा वीरगञ्ज भन्सार कार्यालयका प्रतिनिधिसहित गरिएको संयुक्त कारबाहीमा २ हजार ८४८ मिटर टेबल पोस, १३ थान रेडिमेड टेबल पोस र ३५ प्याकेट एयर कन्डिसनर स्ट्यान्ड बरामद गरिएको हो।
सशस्त्र प्रहरीका अनुसार बरामद सामग्रीको अनुमानित मूल्य करिब ३ लाख ५० हजार रुपैयाँ रहेको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।
यस्तै, सीमा क्षेत्रमा नियमित गस्तीका क्रममा वीरगञ्ज महानगरपालिका–१६ भन्सार टोलबाट भारततर्फ अवैध रूपमा लैजान लागिएको ३३ कार्टुन (६२० किलोग्राम) स्याउ पनि नियन्त्रणमा लिइएको छ। बरामद स्याउको अनुमानित मूल्य ६३ हजार ५ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल नं. १३ गण मुख्यालय पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले सीमा क्षेत्रमा हुने भन्सार छली तथा अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी र कारबाहीलाई अझ प्रभावकारी बनाइएको बताए।










