बजेट विवाद टुंगियो, मधेश प्रदेशको ४१ अर्बभन्दा बढीको बजेट सर्वसम्मत पारित
जनकपुरधाम — लामो समयदेखि जारी बजेट विवाद अन्त्य गर्दै मधेश प्रदेश सभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याइएको बजेट सर्वसम्मत रूपमा पारित गरेको छ। बुधबार बसेको प्रदेश सभा बैठकले अर्थमन्त्री युवराज भट्टराईले असार १ गते प्रस्तुत गरेको ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट अनुमोदन गरेको हो।
बजेटमा समावेश गरिएका केही कार्यक्रम तथा योजनामाथि प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षीसहित विपक्षी दलहरूले संशोधनको माग गरेका थिए। उनीहरूले सर्वदलीय कार्यदल गठन गरी विवाद समाधान गर्नुपर्ने अडान लिएपछि प्रदेश सभा बैठक पटक–पटक अवरुद्ध भएको थियो।
राजनीतिक सहमति खोज्ने प्रयासस्वरूप प्रदेश सभाले असार २८ गते सात सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलले तयार पारेको १० बुँदे सुझावसहितको प्रतिवेदन मंगलबार सभामा पेश गरेको थियो।
कार्यदलका सुझावलाई बजेट कार्यान्वयनको आधारका रूपमा स्वीकार गरेपछि सत्ता पक्ष र विपक्षी दलबीच सहमति जुटेको हो। सहमतिपछि प्रदेश सभाले बजेट सर्वसम्मत रूपमा पारित गरेको छ।
बजेट पारित भएसँगै मधेश प्रदेशमा केही दिनदेखि देखिएको राजनीतिक गतिरोध समेत अन्त्य भएको छ भने आगामी आर्थिक वर्षका कार्यक्रम कार्यान्वयनको बाटो खुलेको छ।










